arin enterprises

रानीपोखरीको लेउ र झ्याउ हटाउँदै महानगरपालिका

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ माघ ५, सोमबार

पुनर्निर्माणपछि चिटिक्क परेको रानीपोखरी हरियो लेउ र झ्याउले ढाकिएर कुरुप बन्न थालेपछि काठमाडौँ महानगरपालिकाले पोखरीको सरसफाई थालेको छ ।

महानगरपालिकाले दैनिक रुपमा नगर प्रहरीलाई खटाएर त्यहाँको हरियो लेउ र झ्याउ हटाउने काम गरिरहेको महानगरपालिकाले जानकारी दिएको छ ।

‘पुनर्निर्माणपछि रानीपोखरी पुनर्निमाण प्राधिकरणबाट हामीलाई हस्तान्तरण भैसकेको अवस्था छैन । यद्यपि, पोखरी हाम्रै क्षेत्राधिकार भित्र पर्ने भएकाले हामीले सरसफाई थालेका हौँ’ काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो ।

पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमा रानीपोखरी हरियो लेउ र झ्याउले कुरुप भयो भन्ने गुनासो निकै देखिन थालेको थियो । त्यसपछि महानगरपालिकाको ध्यानाकर्षण भएको र सरसफाइको प्रक्रिया अघि बढाएको ज्ञवालीको भनाई छ ।

काठमाडौँ महानगरका प्रहरी प्रमुख धनपती सापकोटाका अनुसार दैनिक २० बढी नगरप्रहरी खटेर पोखरीको लेउ र झ्याउ हटाउने काम भइरहेको छ । दुई दिन लगाएर करीब ५० जना नगर प्रहरीको सहायतामा पोखरीको झण्डै आठ टिपर जति लेउ र झ्याउ झिक्ने काम भएको सापकोटाले जानकारी गराउनुभयो ।

अहिले पोखरीमा पानीको मात्रा घट्दै गएकाले थप समस्या भएको भन्दै पोखरीमा पानी भर्ने विषयमा पनि छलफल भैरहेको सापकोटाले जानकारी दिनुभयो ।

प्राधिकरणका इन्जिनियर राजुमान मानन्धर पनि पानी शुद्धीकरणका लागि विभिन्न विकल्पमाथि छलफल भैरहेको भन्दै काठमाडौँ महानगरपालिकाले सरसफाइका लागि गरेको प्रयास सकारात्मक भएको बताउनुभयो । पानी शुद्धीकरणमा विभिन्न विकल्पमाथि छलफल गरिरहेको भन्दै उहाँले पानी पम्पिङ गर्ने लगायतका बारेमा पनि सोचिरहेको जानकारी दिनुभयो ।

‘पानी पम्पिङ गर्दा पानीमा पर्याप्त अक्सिजन मिसिएर घुल्न पाउँछ । यसका कारण लेउ उम्रन पनि पाउँदैन’ उहाँले भन्नुभयो, ‘लेउ खाने जातीका माछा हाल्ने विकल्पमा पनि हामीले सोचिरहेका छौँ ।’

पोखरीमा पानी भर्ने सन्दर्भमा पनि महानगरपालिकासँग छलफल भएको र केही दिन भित्रमै पोखरीमा पानी भरिने मानन्धरले दावी गरे ।

Categorized in स्थानीय