arin enterprises

युरोपा लिगमा म्यानयुको शानदार जित

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ फाल्गुण ७, शुक्रबार

युएफा युरोपा लिग अन्तर्गत गएराति राउन्ड अफ ३२ को पहिलो लेग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाईटेडले शानदार जित हासिल गरेका छन् । जुभेन्टस रंगशालामा भएको खेलमा म्यानयुले रियल सोसिडाडमाथि ४–० को शानदार जित हात पारेको हो ।

म्यानयुलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोलको योगदान दिए । फर्नान्डेजले खेलको २७औं मिनेटमा टिमलाई अग्रता दिए भने ५७ औं मिनेटमा अग्रतालाई दोब्बर बनाए । मार्कस रासफोर्डले ६४ औं र डानियल जेम्सले ९० औं मिनेटमा एक/एक गोल गर्दै टिमलाई ४–० को शानदार जित दिलाए ।

त्यस्तै वुल्फ्सबर्गलाई टोटनह्याम हट्सपरले ४–१ ले पराजित गर्यो । टोटनह्यामका लागि सन ह्युंग मिन, ग्यारेथ बेल, लुकास मोउरा, कार्लोस भिनिकसले एक/एक गोल गरे । वुल्फ्सबर्गका लागि माइकल लिन्डीले एक गोल फर्काए ।

लिग अन्तर्गत गएराति नै सम्पन्न अर्को खेलमा आयाक्सले लिल्लेमाथि २–१ को जित हासिल गरेको छ । बेनिफिकाले आर्सनललाई १–१ गोलको बराबरीमा रोकेको छ । ५५ औं मिनेटमा पिज्जिले गोल गरेर बेनिफिकालाई अग्रता दिए भने ५७ औं मिनेटमा बुकायो साकाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

ओलम्पियाकोसले पिएसभिमाथि ४–२ को जित हासिल गर्यो । तेल अबिबलाई शख्तर डोनेत्स्कले ०–२ ले हरायो । लेस्टर सिटिलाई स्लाभिया प्राहाले ०–० को बराबरीमा रोक्दा मोल्डे र होफेनहीमले ३–३ गोलको बराबरी खेले ।

त्यस्तै रेन्जर्सले एन्टवर्पलाई ४–३ ले हराएको छ । एन्टवर्पका लागि फिलिप एभेनाट्टी र मार्टिन होंगलाले एक÷एक गोल र लायोर रेफाएलोभले पेनाल्टीमार्फत एक गोल गरेका थिए । खेलको ८८ औं मिनेटमा एब्दुलाए सेक रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

त्यस्तै नापोलीलाई ग्रानाडाले २–० ले हराएको छ । ग्रानाडालाई जित दिलाउन यांगेल हेरेरा र केनेडीले एक/एक गोल गरे । त्यसैगरी भिल्लारियलले आरबि साल्जबर्गलाई ०–२ ले पाखा लगाएको छ । लिभरकुजेनलाई योङ्ग बोइजले ४–३ ले पराजित गर्यो ।

Categorized in स्पाेर्ट्स