arin enterprises

काठमाडौं महानगरपालिकामा नेपालभाषा शिक्षण तालिम शुरु

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ फाल्गुण १७, सोमबार

काठमाडौं महानगरपालिकाले यसै वर्षबाट शुरु गर्न लागेको स्थानीय पाठ्यक्रम पठनपाठनका लागि ‘नेपालभाषा प्रशिक्षण सहायक प्रशिक्षक तालिम’ को शुरुवात भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आइतबार काठमाडौं २२ वडा गणबहालस्थित नेपाल आदर्श माविमा तालिमको उद्घाटन गर्नुभयो ।

कामपा शिक्षा विभागको आयोजना र नेवाः स्यनामि दबू नेपालमण्डलको संयोजनमा सञ्चालन गरिएको तालीम तीन दिनसम्म चल्नेछ ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख शाक्यले काठमाडौंको सम्पदा संरक्षण गर्ने क्रममा यहाँको स्थानीय भाषा नेपालभाषामै स्थानीय पाठ्यक्रम पठनपाठन गर्न लागिएको बताउनुभयो । अर्को एक प्रसङ्गमा महानगर प्रमुख शाक्यले कमलपोखरीको सम्वन्धमा भ्रम सिर्जना गरी स्थानीय जनता र खलःपुचःहरूलाई समेत भ्रमित तुल्याउन खोजिएकोले दावी गर्दै सचेत हुन आग्रह गर्नुभयो ।

‘महानगरपालिकाले कमलपोखरीमा बनाइएका प्रहरी चौकी, क्लब भवन भत्काएर पहिले भन्दा ठूलो आकारमा बचाउन खोजिरहेको छ’, शाक्यले भने । ‘राजनीतिक अभिष्ट भएका मानिसहरू सम्पदा अभियन्ताको खोल ओढेर विरोधमा आइरहेका छन्, यसमा हामी सतर्क होऔँ ।’

कामपा २२ वडाका वडा अध्यक्ष चिनीकाजी महर्जनले स्थानीय नेपालभाषाको माध्यमबाट स्थानीय पाठ्यक्रम पठनपाठन गराउने निर्णयले भाषा आन्दोलनका अभियन्ताहरूले दशकौंदेखि उठाइरहेको मागको सम्बोधन भएको बिचार राखे ।

कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख रामबाबु सुवेदी, नेवाः स्यनामि दबूका पदाधिकारीहरू कृष्णभक्त श्रेष्ठ, वरुणप्रसाद वैद्य लगायतले पनि आआफ्नो विचार राखेका थिए ।

काठमाडौं महानगरपालिकाले स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसीके’ पठनपाठन गराउन एक सय ७२ जना प्रशिक्षण सहायक भर्ना गर्न लागेको छ । त्यसमा छनौट भई आउने प्रशिक्षण सहायकहरूलाई यही तालिमका सहभागी प्रशिक्षकहरूले शिक्षण प्रशिक्षण दिनेछन् ।

Categorized in स्थानीय