पुरातत्व विभागलाई कानूनी दायरामा ल्याउने मेयर शाक्यको भनाई
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ फाल्गुण १७, सोमबार

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागकै कारणले सम्पदा पुनर्निमाणमा समस्या आइरहेको दावी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले कमलपोखरी पुनर्निर्माणमा पुरातत्व विभागकै कारणले विवाद देखिएको दावी गर्नुभयो ।
‘अहिले पुरातत्व विभागले कमलपोखरीको बाहिरी वातावरण हेरेर निर्णय गरेर जनतालाई एक आपसमा लडाउन खोजिरहेको छ’, शाक्यको भनाई हो । ‘जनतालाई लडाएर अघि बढ्न खोजे पुरातत्व विभागलाई पनि कानुनी दायरामा ल्याइनेछ ।’
काठमाडौं महानगरपालिका भित्रका कैयन सम्पदाको पुनर्निर्माणमा पुरातत्व विभागकै कारण अवरोध खडा भएको बताउँदै शाक्यले त्यसको अपजस काठमाडौं महानगरपालिकालाई दिने गरेको आरोप समेत लगाउनुभयो ।
पुरातत्व विभागले हनुमानढोकामा सतलहरु भाडामा लगाएर भाडा खाइरहेको भन्दै मेयर शाक्यले ती सतलहरुमा राखिएका पसल तुरन्त हटाउनका लागि भन्दै विभागलाई पत्राचार गरीसकेको जानकारी दिनुभयो । ती पसलहरु नहटाइए स्थानीय वासिन्दासँग मिलेर नगरपालिकाले कारवाही गर्ने चेतावनी समेत मेयर शाक्यले दिनुभयो ।
कार्यक्रममा मेयर शाक्यको साथै नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले संयुक्त रुपमा काठमाडौं महानगरपालिका २५ वडा जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मन्दिर प्रवलीकरणका लागि शिलान्यास गर्नुभयो । ७२ बैसाख १२ को भूकम्पले क्षतिग्रस्त मच्छिन्द्रनाथको मन्दिर प्रवलीकरण (रेक्ट्रोफिटिङ) गर्न लागिएको हो ।
कार्यक्रममा राजदूत क्वात्राले नेपालको धार्मिक सम्पदाको संरक्षणमा सहयोग गर्न पाउँदा भारत सरकारले पनि गौरव महसूस गरेको बताउनुभयो ।
नेपालको सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले दिन लागेको ५ अर्ब ८० करोडको आर्थिक सहयोग अन्तर्गत पहिलो परियोजनाको रुपमा मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण गर्न लागिएको हो । भारत सरकारबात उपलब्ध गराइने सहयोगबाट २८ सम्पदाहरुको पुनर्निर्माण गर्ने योजना रहेको छ ।
Categorized in स्थानीय