arin enterprises

काठमाडौं महानगरपालिकाको स्थानीय विषयको पाठ्यपुस्तक सार्वजनिक

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ फाल्गुण २८, शुक्रबार

काठमाडौं महानगरपालिकाको आधारभूत तहको स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौं) को विमोचन भएको छ ।

काठमाडौं महानगरपालिका शिक्षा विभागले एक कार्यक्रमको आयोजना गर्दै उक्त पुस्तकको विमोचन गरेको हो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आज संयुक्त रुपमा ती पुस्तकको विमोचन गर्नुभयो ।

विमोचन कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले काठमाडौँ महानगरपालिकाले स्थानीय शिक्षाको क्षेत्रमा ऐतिहासिक र साहसिक काम गरेको भन्दै प्रशंसा गर्नुभयो । मन्त्री श्रेष्ठले अब विस्तारै कम्तीमा पनि काठमाडौँ उपत्यकामा यो शिक्षा लागु गर्ने एजेण्डा बनाएर अघि बढ्न सुझाव दिनुभयो ।

महानगर प्रमुख शाक्यले काठमाडौंको मौलिकता बुझाउन स्थानीय भाषामै पढाउने गरी पाठ्यक्रम तयार गरेको बताउनुभयो ।

‘यःमरि, मरुहिति, क्वहिति, थँहिति आदि जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन’ शाक्यले भन्नुभयो । ‘यस्ता विषयवस्तुहरु विद्यार्थीहरूले आत्मसात समेत गर्न सकुन भनेर अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउने गरी पाठ्यक्रम तयार पारेको हो ।’

शाक्यले नेवारहरुको बाहुल्यता रहेको काठमाडौंमा ७७ वटै जिल्लावासी बसोबास गर्ने भएकाले सबैलाई यहाँको हावापानी, संस्कृति, परम्पराबारे जानकारी दिने उदेश्यले यो शिक्षा लागु गरेको पनि जानकारी दिनुभयो ।

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि यहाँका गुठी–परम्परा, जात्रा–पर्वलगायतका बारेमा विदेशमा जानकारी दिनलाई शिक्षा उपयोगी हुने बताउनुभयो ।

आधारभत तह कक्षा १ देखि कक्षा ८ सम्म हुने भए पनि आज कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक विमोचन गरिएको हो । काठमाडौं महानगरपालिकाले आफु मातहत रहेका सम्पूर्ण सामुदायिक र निजी विद्यालयहरूमा यसै वर्षदेखि उक्त पाठ्यपुस्तक पठनपाठन गर्ने निर्णय गरिसकेको छ ।

नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो । 

पाठ्यपुस्तक र पाठ्यक्रम लेखनमा शुरुदेखि सहभागी हुँदै आउनुभएका वरिष्ठ संस्कृतिविद् डा. चुन्दा वज्राचार्य पाठ्यपुस्तक नेपालभाषामा लेखिएको भए पनि यो भाषा सिकाउने पुस्तक नभएको बताउनुहुन्छ । पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदि सम्बन्धी पाठहरू मात्र समावेश गरिएको उहाँको भनाई छ । 

कार्यक्रममा पाठ्यपुस्तक लेखन समितिका प्रमुख प्राविधिक सल्लाहकार एवं लेखक वरुणप्रसाद वैद्यलगायतले पनि बोल्नुभएको थियो ।

Categorized in स्थानीय