arin enterprises

चौथो विश्व नेवाः दिवस धुमधामका साथ मनाइने

SamacharDesk – बिराज | २०७७ चैत्र १०, मंगलबार

विश्वका विभिन्न कुनाकाप्चामा छरिएर रहेका सम्पूर्ण नेवारहरु संगठित हुन सकेमा समुदायकै सर्वाङ्गिण विकास हुनेमा सरोकारवालाले जोड दिएका छन् । चौथो विश्व नेवाः दिवसको सन्दर्भमा आज राजधानीमा आयोजित पत्रकार सम्मेलनका वक्ताहरुले राष्ट्रको विकासका लागि पनि समुदाय एकजुट हुनुपर्ने बताए ।

आउँदो चैत्र १४ गते शुक्रबारका दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरी चौथो विश्व नेवाः दिवस मनाउने लागिएको छ । यसै सन्दर्भमा आज वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै च्याप्टरका अध्यक्ष शाक्य सुरेनले प्रविधिको माध्यमबाट विश्वभरी छरिएर रहेका नेवाःहरुबीच ज्ञान र सीपको आदानप्रदान गर्दै समुदायको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

‘प्रविधिको सहयोगबाट आज विश्वको एउटा कुनामा रहेको व्यक्तिले अर्को कुनाको व्यक्तिसँग तुरन्त सम्पर्क गर्न सकिन्छ, आजको दिनमा विश्वभरीका नेवाःहरु एकै छाता मुनि उभिन केही गार्‍हो छैन । यसको सदुपयोग गरौं’ अध्यक्ष शाक्यले भन्नुभयो ।

विश्वका विभिन्न कुनाकाप्चामा रहेका नेवाःहरुबीच अन्तरक्रियात्मक सम्वन्ध स्थापित गर्ने एउटा अवसरको रुपमा लिँदै विश्व नेवाः दिवसलाई धुमधामका साथ मनाउन शाक्यले आव्हान गर्नुभयो ।

दिवसकाे अवसरमा विभिन्न कार्यक्रमहरू गरिने ः

त्यस्तै अर्गनाइजेसनको नेपाल च्याप्टरका कोषाध्यक्ष साथै चौथो नेवाः दिवस समारोह समितिका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले विश्व नेवाः दिवस कुनै संस्था विशेषको मात्र नभई सम्पूर्ण नेवाःकै दिन भएकोमा जोड दिए ।

संयोजक श्रेष्ठले दिवसको अवसरमा आउँदो चैत्र १४ गते शनिबार नेपाल च्याप्टरले वसन्तपुरमा विभिन्न सम्मानको साथै बहस कार्यक्रमहरु पनि गर्दै नेपालमा चौथो विश्व नेवाः दिवस मनाउन लागेको जानकारी दिनुभयो ।

संयोजक श्रेष्ठले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आत्थियमा हुने कार्यक्रममा नेवार समाज र नेपालभाषाको विकासका लागि विशेष योगदान दिनु हुने आठ जना विशिष्ट व्यक्तित्वहरु र संंस्थालाई सम्मान गरिने जानकारी दिनुभयो ।

‘यस वर्ष हामीले वरिष्ठ गायक स्व. रमेश ताम्राकारको सम्झनामा स्थापित नगदसहितको पुरस्कार पहिलो पटक प्रदान गर्न लागेका छौं । साथमा दुवै मोहडाबाट सगरमाथा आरोहण गर्दै वर्ल्ड बुक अफ रेकर्डमा नाम दर्ता गराउन सफल महिला पत्रकार कल्पना महर्जनलाई पनि नगद सहित सम्मान गरिनेछ’ संयोजक श्रेष्ठले भने ।

दिवसको अवसरमा नेवारहरु वर्तमान अवस्थामा कसरी अगाडि बढ्नु आवश्यक छ भन्ने विषयमा ‘हलिं नेवाः : चुनौति व अवसर’ (विश्वका नेवार : चुनौति र अवसर) विषयक बहस कार्यक्रम समेत हुन भएको छ । बहस कार्यक्रममा नेवार अगुवाहरु मल्ल के. सुन्दर, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र डा. महेशमान श्रेष्ठ प्रमुख वक्ताका रुपमा रहने छन् ।

यसका साथै नेपालभाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार व्यक्तित्वहरुको तस्वीर प्रदर्शनी, नेवार खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र संघसंस्थाबाट सांस्कृतिक कार्यक्रम प्रस्तुति समेत हुने भएको छ । सोही समारोहमा अर्गनाइजेसनका विविध गतिविधिहरु संलग्न गरी विशेषांक समेत विमोचन गरिने जनाइएको छ ।

पृष्ठभूमि ः

सन् २०१८ मा नेपालमै पहिलो विश्व नेवाः दिवस मनाइएको थियो भने दोश्रो विश्व नेवाः दिवस पनि नेपालमा वसन्तपुरबाट विभिन्न झाँकी र बाजागाजासहित र्‍याली निकालेर मनाइएको थियो । तेश्रो विश्व नेवाः दिवस गत वर्ष सन् २०२० मा कोभिड–१९ का कारण जूममार्फत् भर्च्युअल रुपमा मनाइएको थियो ।

यस वर्ष भने भव्यरुपमा बसन्तपुर डबलीमा मनाउन लागिएको विश्व नेवाः संगठन नेपाल च्याप्टरले जनाएको छ ।

विश्वभरी फैलिएर रहेका नेवाःहरुको साझा संगठन विश्व नेवाः संगठन (वर्ल्ड नेवाः अर्गनाइजेसन) ले हरेक वर्षको मार्चको अन्तिम शनिवार विश्व नेवाः दिवस मनाउँदै आएको छ । विश्व नेवाः संगठन गठन भएको दिनको स्मरणमा हरेक वर्ष विश्व नेवाः दिवस मनाउने गरिएको हो ।

Categorized in समाज