पत्रकार दबूको साधारण सभामा ४ पत्रकार सम्मानित हुँदै
SamacharDesk – बिराज | २०७७ चैत्र १७, मंगलबार

नेवाः पत्रकार राष्ट्रिय दबूले आफ्नो साधारण सभाको अवसरमा विभिन्न विधामा पत्रकार र संचार गृहलाई समेत सम्मानित गर्ने भएको छ ।
पत्रकार दबूले आज सूचना जारी गर्दै संस्थाको आठौं वार्षिक साधारण सभाको अवसरमा ३ जना पत्रकार र एउटा संचार गृहलाई संस्थागत सम्मान दिने जनाएको हो ।
दबूबाट जारी सूचना अनुसार वरिष्ठ पत्रकार राजेन्द्र स्थापित यस वर्ष सम्मानित हुन लागेका छन् । उनलाई ज्ञानज्योती लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गर्न लागिएको हो ।
त्यस्तै नागरिक दैनिकमा आवद्ध पत्रकार कृष्ण किसिलाई ज्ञानदेवी मणिरत्न स्मृति पत्रकारिता पुरस्कार दिइने भएको छ ।
त्यसैगरी फोटो पत्रकारितामा निरन्तर सक्रिय महिला फोटो पत्रकार रेखा शाक्यलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने भएको छ ।
बौद्ध धर्म सम्वन्धि सामग्री प्रचार प्रसारमा योगदान दिएको भन्दै बोधि टेलिभिजनलाई भिक्षु कुमार कास्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिन लागेको छ ।
आउँदो चैत्र २० गते मध्यपुर थिमिमा हुन गइरहेको दबूको साधारण सभामा उक्त पुरस्कार प्रदान गरिने दबूका अध्यक्ष सुरजबीर बज्राचार्यले जानकारी दिनुभयो ।
Categorized in समाज