arin enterprises

लहानको मालपोत कार्यालय बम बिस्फोट घटनामा २ जना पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७७ चैत्र १८, बुधबार

सिरहाको लहानस्थित मालपोत कार्यालयमा गत चैत १ गते भएको बम विष्फोट घटनामा २ जना पक्राउ परेका छन् ।

लहान–८ स्थित मालपोत कार्यालयमा चैत १ गते बम बिस्फोट गराएको घटनामा संलग्न रहेको भन्दै प्रहरीले २ जनालाई सुखीपुर नगरपालिका–५ बाट पक्राउ गरेको हो ।

प्रहरीले सुखिपुर नगरपालिका–५ बस्ने २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ बस्ने २६ वर्षीय अभिमन्यू गिरिलाई पक्राउ गरेको हो ।

कार्यालयको पहिलो तल्लामा दर्ता चलानी शाखा नजिक सेवाग्राहीहरुको अत्यधिक चाप रहेको बेला अचानक विष्फोट भई ८ जना घाइते भएका थिए ।

त्यस्तै कार्यालयको सिसाहरु फुटेको थियो भने घटनास्थलमा प्रेसर कुकरका टुक्राहरुको साथै तराई जन्तान्त्रिक मुक्ति मोर्चा (गोईत समूह) को पर्चाहरु समेत फेला परेको थियो । साथै विष्फोटपछि वारुदको गन्ध समेत आएको थियो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीको बिशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

तराई जन्तान्त्रिक मुक्ति मोर्चा (गोईत समूह) का अध्यक्ष जय कृष्ण गोइतको निर्देशनमा सुखिपुरका आरके भन्ने राम कुमार यादवले गत फागुन २६ गते भगवानपुर ठाडी भन्ने स्थानमा प्रेसर कुकर बम आफूहरूलाई दिएको भनी अभियुक्तहरुले बयान दिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयमा प्रेसर कुकर बम राख्न जाँदा लगाएको रातो ज्याकेट, चपल र टिसर्टको साथै १ थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने २ राउण्ड गोलीसमेत रामरिझनबाट बरामद भएको छ ।

अभिमन्यूको साथबाट १ थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने २ राउण्ड गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

रामरिझन २०७४ चैत ९ गते विकास ज्वेलर्स लहानमा भएको विष्फोटको मुद्दामा सिरहा जिल्ला अदालतबाट १ लाख धरौटीमा रिहा भएका थिए ।

त्यस्तै अभिमन्यू २०७५ साउन ३१ गते विराटनगर उपमहानगरपालिकाको कार्यालयमा बम बिष्फोट गराएको मुद्दामा मोरङ जिल्ला अदालतबाट ३५ हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

अभिमन्यू बिगत ५ वर्षदेखि तराई जन्तान्त्रिक मुक्ति मोर्चा (गोईत समूह) मा संलग्न रहि चन्दा असुली गर्ने गरेको खुल्न आएको पनि प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

Categorized in अपराध