arin enterprises

बालाजु बाईपासमा सूचना केन्द्रको शिलान्यास सम्पन्न

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ चैत्र १८, बुधबार

बालाजु बाईपासमा सूचना केन्द्रको आज शिलान्यास भएको छ । बालाजु बाइपासको कित्ता नम्बर ९९ र एक सय २५ मा आज सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

सुविधा सम्पन्न शौचालयसहित करीब एक करोडको लागतमा बालाजु बाईपासमा सूचना केन्द्रको निर्माण गर्न लागिएको हो । बाईपासमा निर्माण हुने सुचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने आवागमनको लगत राख्ने मन्त्री मानन्धरले जानकारी दिनुभयो ।

सूचना केन्द्रबाट बालाजुबाट बाहिरिँदा पुगिने ठाउँ र भित्र आउँदा आवश्यक पर्ने सेवा प्राप्त हुने ठाउँका बारेमा जानकारी दिइनेछ ।

विना मूआब्जा आफ्नो जग्गा हडपेको भन्दै केही स्थानीय यसको विरोधमा छन् । यसै सन्दर्भमा केही दिन अघि मात्र भएको प्रहरी र स्थानीयको झडपमा ८ जना पक्राउ परेका थिए । काठमाडौं महानगरपालिकाले भने सो स्थान महानगरपालिकाकै स्वामित्वमा रहेको दावी गरेको छ ।

‘बाइपासलाई विवादित बनाउने प्रयास भएपनि अहिले जनताको जित भएको छ, सार्वजनिक सम्पतिको संरक्षणमा सरकार सचेत छ’ शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै राज्यमन्त्री मानन्धरले भन्नुभयो ।

मन्त्री मानन्धरले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधासहितका सूचना केन्द्र स्थापना गर्ने लक्ष्य लिएको पनि जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइट जाने फोहरका गाडीको लगत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो ।

सूचना केन्द्रबाट पर्यटक र सर्वसाधारणलाई काठमाडौं र उत्तरी क्षेत्र हुँदै पुगिने नुवाकोट रसुवा गोरखा जाने बाटो लगायतबारेमा पनि सूचना दिइने शाक्यले बताउनुभयो ।

‘काठमाडौँ महानगरपालिकाले निर्वाचनका बेला व्यक्त गरेका प्रतिवद्वता अनुसार काम गरिरहेको छ । फोहर व्यवस्थापनलगायतका सन्र्दभमा पनि महानगरले आवश्यक पहल जारी राखेको छ’ शाक्यले बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले महानगरका थुप्रै ठाउँमा यपप्रकारका सूचना केन्द्र र सार्वजनिक शौचालय स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।

सूचना केन्द्रको निर्माण कार्य उपभोक्ता समितिमार्फत भइरहेको काठमाडौं महानगरले जनाएको छ । महानगरपालिकाको ९५ लाख ६० हजार र उपभोक्ताले १० लाख ६० हजार व्यहोर्ने उपभोक्ता समितिमा अध्यक्ष हरिओम मानन्धर र सचिव समिर भण्डारीले जानकारी दिनुभयो ।

Categorized in समाज