arin enterprises

पत्रकार दबूको साधारण सभामा पत्रकारहरु सम्मानित

SamacharDesk – बिराज | २०७७ चैत्र २०, शुक्रबार

मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने नेवाः पत्रकार सम्मानित भएका छन् । आज मध्यपुर थिमिमा सम्पन्न नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभामा ५ जना पत्रकार र एक संचार गृहलाई सम्मान गरिएको हो ।

कार्यक्रममा जनआस्था साप्ताहिकका प्रवन्ध सम्पादक वरिष्ठ पत्रकार राजेन्द्र स्थापितलाई ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कार प्रदान गरियो । २० हजार रुपैयाँ राशीसहित स्थापितलाई पुरस्कृत गरिएको हो ।

त्यस्तै नागरिककर्मी पत्रकार कृष्ण किसीलाई रु. १५ हजार राशीसहित ज्ञानदेवी मणिरत्न स्थापित स्मृति पत्रकारिता पुरस्कार प्रदान गरियो ।

फोटो पत्रकारितामा सक्रिय महिला फोटो पत्रकारलाई रेखा शाक्यलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो । उक्त पुरस्कारको राशी रु. १० हजार रहेको छ ।

बुद्ध धर्मको सन्देश प्रचार प्रसारमा योगदान दिएको भन्दै बोधि टेलिभिजन भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । बोधि टेलिभिजनका कार्यकारी निर्माताले राजु नापितले बोधि टेलिभिजनको प्रतिनिधित्व गर्दै रु. १२ हजार राशीसहितको उक्त पुरस्कार ग्रहण गर्नुभयो ।

उत्तरी र दक्षिणी दुबै मोहडाबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो र हालसम्म एक मात्र महिला पत्रकार कल्पना महर्जनलाई पनि सोही कार्यक्रममा विशेष सम्मान प्रदान गरिएको थियो ।

त्यसैगरी नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सदस्यमा मनोनित हुने नेवाः पत्रकार ऋषिकेश श्रेष्ठलाई बधाईसहित सम्मान गरिएको थियो ।

सम्मानित सबैलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले दोसल्ला ओढाउनुभयो भने वागमती प्रदेशका सांसद राजेश शाक्यले सम्मान पत्र प्रदान गर्नुभयो ।

समावेशीताको मुद्दा स्थापित गर्न नेवाः पत्रकारको योगदानको चर्चा

कार्यक्रमलाई सम्वोधन गर्दै वागतमी प्रदेश सांसद शाक्यले पत्रकारिता क्षेत्रमा मोफसलका पत्रकारहरु सक्रिय रहेको बताउँदै तिनीहरुलाई काठमाडौं उपत्यकाको जानकारी दिनुपर्ने सुझाव राख्नुभयो ।

अहिले पत्रकारिता क्षेत्रमा धेरै काठमाडौं उपत्यका बाहिरका पत्रकारहरु सक्रिय रहेको छ, उहाँहरुलाई काठमाडौं उपत्यकाबारे धेरै जानकारी नहुँदा उपत्यका बारे भ्रमपूर्ण समाचार आउने गरेको छ’, शाक्यको भनाई थियो, ‘नेवाः पत्रकारहरुले यस्तो भ्रम चिर्न भूमिका निभाउनुपर्छ ।’

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले दबू आर्थिक रुपमा पनि बलियो हुनुपर्नेमा जोड दिँदै दबूको अक्षय कोषमा आफुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कोरोना महामारीलाई ध्यानमा राखेर सचेत बन्दै जात्रापर्व अगाडि बढाउनुपर्ने विचार उहाँको थियो ।

त्यस्तै प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले धर्मादित्य धर्माचार्यलाई मातृभाषाको पहिलो पत्रकारको रुपमा स्थापित गर्न प्रेस काउन्सिलले पत्रकार दबूसँग सहकार्य गरेर कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने घोषणा गर्नुभयो ।

‘भाषिक, लैङ्गिक, जातीय समावेशी, समानताको साथमा संस्कृति, सभ्यता परम्परा नै लोकतन्त्रको उपलब्धि हो । यसलाई संस्थागत रुप दिने सम्बन्धमा प्रेस काउन्सिलले सक्दो सहयोग गर्ने वचन यसै मञ्चबाट दिन चाहन्छु’ कार्यवाहक अध्यक्ष बुढाथोकीको भनाई थियो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङ, नेपाल पत्रकार महासंघबाट गोविन्द चौलागाईँ, राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष नरेश ताम्रकार लगायतले समावेशी र समानताको मुद्दा स्थापित गर्नका लागि भाषिक, जातीय संस्घसंस्थाहरुको सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

पत्रकार दबूको कोष ५० लाख पुर्‍याइने

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर वज्राचार्यले सत्य नारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघका संस्थापकको रुपमा मान्यता दिलाउन भाषिक संघसंस्थाबाट सहयोग हुने अपेक्षा राख्नुभयो । दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले दबूले विगतमा पहिलो पटक मातृभाषा पत्रकारिता सम्मलेन गरेको स्मरण गर्दै अब राष्ट्रिय सम्मेलन गर्ने योजना रहेको जानकारी गराउनुभयो ।

केन्द्रीय महासचिव सुनील महर्जनले सबैको सामूहिक प्रयासले पत्रकार दबू अहिले संस्थागत रुपमा बलियो बनिसकेको दावी गर्नुभयो ।

कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेवाः पत्रकारको हकहितका लागि ५ लाखको लक्ष्य लिइ स्थापना गरेको अक्षय कोषमा हाल १६ लाख रुपैयाँ जम्मा भइसकेको जानकारी गराउनुभयो ।

‘२८ जिल्लाका ५३६ सदस्यका लागि स्थापना भएको यो कोषमा यो रकम अझ पनि अपुग देखिएको छ । अब यसलाई बढाएर रु. ५० लाख पुर्‍याउने लक्ष्यसहित अघि बढिरहेका छौं’ कोषाध्यक्ष श्रेष्ठको भनाई थियो ।

दबूका निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जनले फोनिज लगायतका जातीय, भाषिक समुदायको साझा संगठनसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

सोही कार्यक्रममा वागमती प्रदेशका सांसद शाक्य र मध्यपुर थिमि नगरपालिकाका प्रमुख श्रेष्ठले संयुक्तरुपमा पत्रकार दबूको स्मारिका ‘लुमन्ति पौ’ को विमोचन गर्नुभएको थियो ।

सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले पठाउनुभएको शुभकामना सन्देश पत्र दबूका सचिव केके मानन्धरले वाचन गरी सुनाउनुभएको थियो ।

सभाको बन्द सत्रले महासचिव महर्जनले प्रस्तुत गर्नुभएको वार्षिक कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन आवश्यक सुझावसहित सर्वसम्मत पारित गरेको छ ।

Categorized in समाज