महासंघको निर्वाचनमा समावेशी सञ्चारमा प्रतिबद्धलाई निर्वाचित गराउन आहवान
SamacharDesk – बिराज | २०७७ चैत्र २३, सोमबार

नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा समावेशी सञ्चार र मातृभाषा पत्रकारिताको विकासको मुद्दाप्रति प्रतिबद्ध पत्रकारहरुलाई निर्वाचित गराउन आग्रह गरेको छ । पत्रकार राष्ट्रिय दबूले आईतबार जारी १० बुँदे घोषणापत्रमार्फत यस्तो आग्रह गरेको हो ।
पत्रकार दबूको नवौं स्थापना दिवस र हालै भक्तपुरस्थित मध्यपुर थिमिमा सम्पन्न आठौं वार्षिक साधारण सभामा उठाइएका विषयको आधारमा सो घोषणापत्र जारी गरेको हो ।
पत्रकार दबूका अध्यक्ष सुरजवीर बज्राचार्य र महासचिव सुनील महर्जनद्वारा हस्ताक्षरित सो घोषणापत्रमा भनिएको छ ‘महासंघको निर्वाचनमा नेवाः पत्रकारको सहभागिता सुनिश्चित गर्न पहल गर्ने छौं । त्यसका साथै आदिवासी जनजाति, महिला, मधेशी, दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायका पत्रकारहरुको सहभागीता बढाउनुका साथै समावेशी सञ्चार र श्रमजीवी पत्रकारको मुद्दाप्रति प्रतिबद्ध पत्रकारलाई निर्वाचित गराउन अधिकतम पहल गर्न आग्रह गर्दछौं ।’
घोषणापत्रमा नेपाली सञ्चार माध्यमको अन्तर्वस्तुमा नेपालको विविधता प्रतिविम्बित हुनुपर्ने र त्यसका लागि समाचारकक्षमा नेवाः लगायत आदिवासी जनजाति समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, जनजाति सञ्चारकर्मीको क्षमता विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी प्रेस काउन्सिलको इतिहासमै पहिलो नेपालभाषा र मैथिली भाषामा आचारसंहिता प्रकाशनले पत्रकार आचारसंहिताबारे सचेतना ल्याउन टेवा पुर्याएको उल्लेख घोषणापत्रमा गरिएको छ ।
नेपाली पत्रकारहरुलाई संगठित गर्ने कामको शुरुवात गर्ने सत्यनारायण बहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघको संस्थापक भएको दाबी गर्दै उहाँको योगदानलाई कदर गर्नुपर्ने पनि घोषणा पत्रमा माग गरिएको छ ।
त्यसैगरी स्थानीय पाठ्यक्रम ‘ये देय् म्हसीके’ पुस्तक प्रकाशन गरी महानगरपालिका क्षेत्रका सार्वजनिक र संस्थागत विद्यालय पठन पाठन अनिवार्य गरी पढाउने शिक्षकसमेत व्यवस्था गर्ने काठमाडौं महानगरपालिकाको कदमले युगौंसम्म महत्व राख्ने समेत उक्त घोषणापत्रमा उल्लेख गरिएको छ ।
Categorized in समाज