कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू
SamacharDesk – बिराज | २०७७ चैत्र ३०, सोमबार

नेपालमा कोरोना संक्रमणको दर फेरी बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजबाट कोरोना भाईरस रोकथाम तथा सुरक्षाका लागि जनचेतनामूलक अभियान शुरु गरेको छ ।
महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा काठमाडौंको पुरानो बसपार्कबाट अभियान थालेको हो । ‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ अभियानको थालनी गरिएको हो ।
अभियानको थालनी गर्दै महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै माहामारीको रूपमा फैलिरहेको कोभिड १९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियान आजदेखि शुरूवात गरिएको बताउनुभयो ।
कोभिड १९ बाट यातायात क्षेत्र उच्च जोखिममा रहेकोले बेलैमा सावधानी अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा यातायात व्यवसायीहरू, मजदुर संघ, युनियनका पदाधिकारीहरू, ट्राफिक प्रहरीका उच्च अधिकृत तथा जवानहरूलेसवारी साधनहरूमा स्टीकर टाँसेका थिए ।
‘सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौँ’ लेखिएको स्टिकर उपत्यकामा चल्ने सम्पूर्ण माईक्रो तथा बसहरूमा टाँसिने महाशाखाले जनाएको छ ।
साथै पैदलयात्री, सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्क समेत वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई कोरोना भाइरसबाट कसरी सुरक्षित रहने भन्ने सम्बन्धमा आ–आफ्नो विचार राखेका थिए ।
Categorized in समाज