arin enterprises

स्वयम्भूमा पुनर्निर्मित १७ घर हस्तान्तरण

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख १४, मंगलबार

वि.सं. २०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भूकम्पले क्षतिग्रस्त स्वयम्भू परिसरस्थित काग्यु कर्मपा सम्प्रदायको कर्मराज महाविहार र स्वयम्भू महाचैत्यका बुद्धाचार्य पुजारीहरूको निवासको पुनर्निर्माण सम्पन्न भइ सम्बन्धित घरधनीहरूलाई हस्तान्तरण गरिएको छ ।

साेमवार स्वयम्भुमै भएकाे एक समाराेहका बीच संघीय सांसद जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले घरको नक्सा घरधनीहरुलाई हस्तान्तरण गर्नुभयो । सोही कार्यक्रममा कर्मराज विहारमा स्थापना गरिएको शिलापत्र अनावरण गरिएको थियो ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा संघीय सांसद जीवनराम श्रेष्ठले विना अध्ययन, स्थानीयको सहमति विना सडक विस्तार गरिँदा सम्पदामा समेत असर परेको विचार राख्नुभयो । जथाभावि गरिएको सडक विस्तारले स्थानीयको घरमात्र होइन, मठमन्दिर, पाटी, सत्तल लगायतका धार्मिक, साँस्कृतिक, सामाजिक सम्पदाहरु समेत भत्काइएको दावी गर्नुभयो ।

त्यसैगरी काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले अहिले राजधानीमा कुनै जीर्ण सम्पदा पुनर्निर्माण गर्न थाल्यो कि चर्चाका लागि विरोध गरिहाल्ने समूह सक्रिय भइरहेको बताउँदै यस्तो अवस्थामा पनि स्वयम्भू जस्तो धार्मिकस्थलमा विहार र पुजारी परिवारको घर पुनर्निर्माण सम्पन्न गर्न सक्नु अत्यन्तै ठूलो कुरा भएको बताउनुभयो ।

हाल निर्माणाधीन कमलपोखरीमा पनि यसरी नै विरोध भइरहेको बताउँदै उहाँले अब अदालतले नै काम नगर भनेको अवस्थामा बाहेक दुई चार जना मानिसहरू कराएको भरमा कुनै पनि सम्पदा निर्माण नरोकिने प्रतिवद्धता पनि जनाउनुभयो ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौंका हरेक पोखरीले इतिहास बोकेको विचार राख्दै यसलाई तराईका माछा पाल्ने पोखरीसँग तुलना नगर्न अनुरोध गर्नुभयो ।

पुरातत्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहालले स्वयम्भूमा हाउस पुलिङ विधिबाट गरिएको यो निर्माण कार्यलाई युनेस्कोले पनि स्याबासी दिने दावी गर्नुभयो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ताको  साथै १५ वडाका वडाध्यक्ष र स्वयम्भू पुनर्निर्माण समितिका अध्यक्ष ईश्वरमान डंगोलले पूजनीय १७ औं कर्मपा थिन्ले थाय दोर्जेज्यूको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको यो कार्यमा अपनाइएको हाउस पुलिङ विधि काठमाडौंमै पहिलो योजना भएको दावी गर्नुभयो ।

काठमाडौं महानगरपालिका १५ वडा कार्यालयको नेतृत्वमा स्वयम्भू पुनर्निर्माण समितिले पुजारी परिवारका १७ वटा घर र कर्मराज महाविहार (गुम्बा) को पुनर्निर्माण गरेको हो ।

यसको लागि आवश्यक बजेटेको व्यवस्था कर्मराज महाविहारका प्रमुख १७ औं अवतारी गुरु थिन्ले थाय दोर्जेज्यूले गर्नुभएको थियो । उहाँ र उहाँको सुखावती फाउण्डेशनबाट प्राप्त भएको १३ करोड ५३ लाख रुपैयाँको लागतबाट महाविहारको भवन र पुजारी परिवारका १७ वटा घरहरू पुनर्निर्माण गरिएको थियो ।

कार्यक्रममा हाल भारतको नयाँ दिल्लीमा रहनुभएका पूजनीय १७ औं कर्मपा थिन्ले थाय दोर्जेज्यूले पठाउनुभएको सन्देश पनि सुनाइएको थियो भने कर्मपा विहारको इतिहास बारे सोही विहारका प्रतिनिधि स्याब्चु रिम्पोचेले चर्चा गर्नुभएको थियो ।

Categorized in समाज