निषेधाज्ञाको समयमा काठमाडौं महानगरले निःशुल्क एम्बुलेन्स संचालन गर्ने
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख १५, बुधबार

काठमाडौंमा निषेधाज्ञा जारी रहेको समयमा काठमाडौँ महानगरले कोविड १९ संक्रमित र अन्य विरामीलाई अस्पताल लान ल्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।
कोविड १९ को न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मंगलबार बसेको विशेष कार्यपालिका बैठकले कोभिड १९ र अन्य विरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको हो ।
नेपाल एम्बुलेन्स सेवा १०२ सँगकाे सहकार्यमा काठमाडौं महानगरपालिकाले कोभिड पोजेटिभ विरामीलाई र अन्य विरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयनो ।
‘एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन र सिधै चालकसँग सम्पर्क गर्ने व्यवस्था हुनेछ, डाइलोसिसलगायत दीर्घ रोग र आकस्मिक सेवा लिन अस्पताल जानुपर्ने व्यक्तिको अस्पताल जान र आउन सवारीको समस्या समाधान हुनेछ’ प्रमुख शाक्यले भन्नुभयो ।
यसका लागि महानगरले एम्बुलेन्स सञ्चालनसँग सम्बन्धित पदाधिकारीसँग सम्झौता गर्नेछ । एम्बुलेन्स सञ्चालन गर्दा लाग्ने खर्च महानगरले व्यहार्नेछ ।
राहत वितरण र खाना खुवाउने काम भने तत्काल आवश्यक नरहेको बैठकले निष्कर्ष निकालेको छ । संक्रमणको अवस्था हेरेर आवश्यक परे पछि छलफल गर्ने गरी अहिलेलाई राहत बाँड्ने र खाना खुवाउने काम नगर्ने निर्णय गरिएको हो ।
वैठकले नागरिकका समस्या सुनुवाई गरेर समाधान गर्न टोल फ्रि नं. ११८० लाई २४ सै घण्टा सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।
यसैगरी समुदाय स्तरमा सचेतनाका बढाउन शिक्षकहरु परिचालन गर्ने, जोखिमयुक्त स्थानहरुमा निसंक्रमण गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र (लेवल १) स्थापनाका लागि सहयोग गर्ने निर्णय पनि भएको छ ।
यसको साथमा कोभिड १९ बाट संक्रमित विपन्न परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न महानगरले ठूला वडालाई १ लाख, मझौला वडालाई ७५ हजार र साना वडालाई ५० हजार रुपैयाँ निकासा पठाउने निर्णय भएको छ ।
बैठकमा वडाध्यक्षहरु दलबहादुर कार्की, नीलकाजी शाक्य, रामकुमार के. सी., मचाराजा महर्जन, शुद्धकुमार डंगोल र कार्यपालिका सदस्यहरु लक्ष्मी श्रेष्ठ र हीरादेवी पोखरेलले वडास्तरीय समस्याका बारेमा धारणा राख्नुभएको थियो ।
वैठक अघि जनस्वास्थ्य विभागले विश्वमा फैलिएको कोभिड संक्रमणको दोस्रो लहरको असर, नेपाल र काठमाडौँको महामारीको वृद्धिदर, रोग नियन्त्रणका लागि विभागका कार्यक्रमका बारे प्रस्तुतिकरण गरेको थियो ।
त्यस क्रममा विभागका प्रमुख हरिबहादुर कुवँरले साझा प्रयासले मात्र महामारी नियन्त्रण सम्भव हुने विचार राख्दै महामारी रोक्न हरेक व्यक्तिमा इमान्दारिता र नैतिकता हुनुपर्ने बताउनुभयो ।
Categorized in स्थानीय