arin enterprises

विश्वभरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईँदै

SamacharDesk – बिकाश | २०७८ बैशाख १८, शनिबार

आज मे १ तारीख, विश्वभरी विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईँदैछ ।

विश्वभरीका मजदुरहरु यस दिवसलाई आफ्नो हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गर्छन् ।

विश्वभरी कोभिड महामारी फैलिरहेको अवस्थामा विगतका वर्षहरुमा झैं यस वर्ष कुनै ठुला कार्यक्रमको आयोजना भने हुन सकेन ।

नेपालमा पनि संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी रहेको अवस्थामा यस वर्षको श्रमिक दिवस भर्च्युअल कार्यक्रमहरु गरी १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईँदैछ ।

यद्यपि विभिन्न विकास निर्माणका कामहरुमा आज निषेधाज्ञाको दिनमा पनि खटिरहेकै छन् ।

मे १ तारीखको दिन विश्वभरी अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रुपमा यो दिवस मनाउने गरिन्छ । यो दिनमा विश्वका विभिन्न राष्ट्रहरुमा सार्वजनिक विदासमेत दिने गरिएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको ईतिहास

१९ औं शताब्दीमा यूरोपका विभिन्न उद्योगहरुमा १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रमशोषण गरेको विरोधमा मजदुरहरुले मे १ १८८६ का दिन आवाज उठाए ।

ती मजदुरहरुले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको साथमा एक दिन विदाको माग गरे ।

यहि मागसहित सिकागोमा भएको प्रदर्शनमा गोली चलाईँदा थुप्रै प्रदर्शनकारीको हत्या भयो । मे ४ का दिन प्रदर्शनमाथि दमन गर्दै बम समेत विष्फोट गरीयो, जुन विष्फोटमा ४ प्रहरीसहित ७ जनाको मृत्यु भयो ।

फेरी घटनाको मुख्य दोषीको रूपमा ८ जना निर्दोष मजदुरलाई पक्राउ गरी फाँसी समेत दिइयो ।

त्यसको ३ वर्षपछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो ।

नेपालमा वि.सं. २००७ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो ।

Categorized in समाज