arin enterprises

केन्द्रको अधिनायकवाद लुम्बिनी प्रदेशमा देखिएको काँग्रेसको ठहर

SamacharDesk – बिकाश | २०७८ बैशाख १९, आइतबार

नेपाली काँग्रेसले आज लुम्बिनी प्रदेशमा भएको घटनाक्रमलाई संविधानको ठाडो उल्लंघन, बलमिच्याइ र घोर अलोकतान्त्रिक भन्दै निन्दा गरेको छ ।

नेपाली काँग्रेसले आज एक प्रेस विज्ञप्ती जारी गर्दै बहुमत गुमाएको तथ्य बुझेर अविश्वासको प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक वा संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत नभएको बताएको छ ।

सभापति शेरबहादुर देउवाबाट हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ, ‘नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजिनामा गरेको अनि नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा, राजमो लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितीमा संसदीय मूल्य मान्यता विपरितको व्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तीजनक छ ।’

साथै संसदमा अविश्वासको प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुयाई राजीनामाको नाटक गरेको काँग्रेसको ठहर छ ।

बलमिच्याईँले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारु गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न चेतावनीसहित काँग्रेसले अपील गरेको छ ।

Categorized in राजनीति