arin enterprises

काठमाडौंमा अनधिकृत प्रचार र निर्माण सामाग्री हटाईँदै

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख २१, मंगलबार

काठमाडौँ महानगरका नगर प्रहरी अहिले सडकमा छोडेका अनधिकृत निर्माण सामाग्री तथा प्रचार सामाग्री हटाउन सक्रिय भएको छ ।

यसैगरी सडक किनारा तथा पार्कमा रहेका जोखिमयुक्त रुखको हाँगा काटेर जोखिममुक्त बनाउने काम पनि नगर प्रहरीले गर्दैछ ।

व्यस्त समयमा सवारी आवागमनले असजिलो भएका काम अहिले बन्दाबन्दीको समयमा गरिरहेको नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटा भन्नुहुन्छ ।

‘सडकमा काम गर्नेले काम सम्पन्न भएपछि उव्रिएका सामान नथन्क्याइदिँदा सडकका ठाउँठाउँमा केही न केही अनावश्यक सामाग्री थुप्रिएका छन्, यस्ता सामाग्रीसँगै भत्किएका वा टुक्रिएका बार, पिलर, खम्बालगायत सामाग्री हटाउँदैछौँ’ सापकोटाले भन्नुभयो ।

महानगरका ठूला ८ वटा आकाशे पुलमा राखिएका प्रचार सामाग्री नगर प्रहरीले हटाएको छ । स्टिकर टाँसेर लगाइएका सामाग्री उक्काउन कठिन भएकोले रङ्ग पोतेर छोडिएको छ ।

‘अप्ठ्यारा ठाउँमा राखिने भएकोले यस्ता सामाग्री हटाउन सुरक्षाका दृष्टिले जोखिमपूर्ण छ । तर यसको व्यवस्थापनका लागि सम्झौता गर्ने पक्षले सम्झौताबमोजिम राजस्व तिर्नेलगायत काम नगरेकाले हामीले जोखिम मोलेरै भए पनि प्रचार सामाग्री हटाएका हौँ ।’ महाशाखा प्रमुख सापकोटाको भनाइ छ ।

अनधिकृत निर्माण सामाग्री हटाउने क्रममा कलंकीदेखि त्रिपुरेश्वरको मुल सडक, सुन्धारा, नयाँ सडक, भोटाहिटी, जमल, कान्तिपथ, दरबार मार्ग, कमलादी, पुतलीसडकको सामग्री हटाइएको छ । भोलिबाट बानेश्वर क्षेत्रतर्फ केन्द्रीत हुने महाशाखाको योजना छ ।

महाशाखाकाअनुसार सडक र सडक पेटी निर्माण तथा मर्मत गर्दा, खानेपानीको पाइप लाइन बिछ्याउँदा, टेलिकम र इन्टरनेटजन्य सुविधा वितरण गर्ने प्रयोजनले काम गर्दा बाँकी रहेका कुनै न कुनै सामाग्री सडकमै छोडेर जाने चलन छ ।

Categorized in स्थानीय