arin enterprises

प्रहरी अस्पतालमा डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालनमा

SamacharDesk – बिकाश | २०७८ बैशाख २१, मंगलबार

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा प्रतिसिलिण्डर ४६ लिटरका १ सय ४० वटा सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालनमा आएको छ ।

कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिडर फिलिङ स्टेशन लगायतका उपकरण राखिएको उक्त सिस्टम UNOPS को सहयोगमा करिब ३ करोड रुपैयाँको लागतमा संचालनमा ल्याइएको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार उक्त सिस्टमको निरीक्षण गर्नुका साथै यसले काम गर्ने पद्धतिबारे जानकारी लिनुभयो । साथै उहाँले अस्पतालका विभिन्न विभागहरू, कोभिड–१९ बाट संक्रमितको उपचार सेवा, नयाँ थप भएका वेड, पिसिआर परीक्षणस्थल लगायतको निरीक्षण गर्नुभयो ।

अस्पतालको सेवालाई उत्कृष्ट बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय हुनुपर्ने र यसका लागि प्रहरी प्रधान कार्यालयको पूर्ण साथ र सहयोग कायम रहने उहाँले बताउनुभयो ।

राम्रो सेवा, असल व्यवहार र उपलब्ध साधन स्रोत तथा जनशक्ति व्यवस्थापनमा अझै सुधार गर्दै समूहगत रुपमा लड्यौं भने वर्तमान महामारीलाई परास्त गर्न सहज हुने उहाँले बताउनुभयो ।

उपचारको साथै विरामी र तिनका आफन्तलाई सूचना तथा सुझाव दिने, विरामीको अवस्था बुझ्नको लागि छुट्टै टेलिफोनको व्यवस्था गर्ने, काउन्सिलिङ गर्ने र आफ्नो कर्तव्यप्रति दत्तचित्त भई लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उक्त अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले अस्पतालबाट भए गरेका काम कारबाही र उपचारको अवस्थाबारे जानकारी गराउनु भएको थियो ।

Categorized in समाज