शिक्षण अस्पतालको नयाँ कोभिड उपचार कक्षको मेयर शाक्यबाट निरीक्षण
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख २२, बुधबार

महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालको नयाँ भवनमा कोभिड उपचार कक्ष बनाउने तयारी गरेको छ । उक्त कोभिड उपचार कक्षको तयारीबारे जानकारी लिन आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा ३ का अध्यक्ष दिपक के.सी. अस्पताल पुग्नुभएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिनेश काफ्लेले अहिले कोभिड उपचार पद्धतिको अभ्यास र नयाँ तयारीका बारेमा स्थलगत अवलोकन गराउनुभएको थियो । त्यस क्रममा महानगर प्रमुख शाक्य, उपप्रमुख खड्गी लगायतले आकस्मिक कक्ष, कोभिड उपचार कक्ष, सघन उपचार कक्षको निरीक्षण गरेका थिए ।
अस्पतालमा क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेको लागि कोभिड उपचार कक्ष बनाउने लागिएको हो । १४० बेड क्षमताको कक्षमा अहिले १ सयसम्म वेड सञ्चालन गर्ने योजना रहेको छ ।
अवलोकनमा क्रममा प्रमुख शाक्यले कोभिड उपचारका लागि अस्पतालले गरिरहेको काम, थप योजनाका विषयमा जिज्ञासा राख्नुभएको थियो ।
प्रमुख शाक्यको जिज्ञासाको उत्तर दिँदै कार्यकारी निर्देशक प्रा. डा. काफ्लेले जनशक्ति परिचालन र स्रोत व्यवस्थापनका कोणबाट महामारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको थियो । कक्षमा आजैबाट ४० वटा वेड सञ्चालनमा आइसकेको पनि काफ्लेले जानकारी गराउनुभयो ।
‘समस्या बढ्दै गए यस कक्षसँग सघन उपचार कक्षसमेत भएको गणेशमान भवनलाई जोडेर सेवा विस्तार गर्दै लानेछौँ’ काफ्लेले बताउनुभयो ।
कोभिडको सघन उपचार कक्ष चलाउन महानगरले भेन्टिलेटर खरिदका लागि सहयोग गरिदिनका लागि काफ्लेले आग्रह गर्नुभयो ।
सो अवसरमा महानगर प्रमुख शाक्यले महानगर संस्थागत साझेदारिताबाट कोभिड रोकथाम र नियन्त्रणका लागि दिगो र परिणाममुखी काम गर्ने योजनामा रहेको बताउनुभयो । जटिल अवस्थामा पुगेका कोभिडका विरामीको उपचारका लागि अस्पतालबाट प्राप्त प्रस्तावका बारेमा छिट्टै निर्णय दिने प्रमुख शाक्यको भनाइ थियो ।
अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीकाअनुसार अस्पतालले अहिले २ सय ५० वेड कोभिड विरामीका लागि छुट्याइएको छ । यीमध्ये २१८ जना विरामीले उपचार गराइरहेका छन् । अस्पतालमा उपचार गराउन आएका कोभिडका विरामीमध्ये यसपटक २ जनाको मृत्यु भएको छ ।
अस्पतालसँगको सहकार्य सकारात्मक र नजिताउन्मुख भएको वडा ३ का अध्यक्ष के. सी.को भनाइ छ । महानगरको सहयोगमा अस्पतालमा कोभिड उपचारका लागि ५ सय वटा वेड पु¥याउने योजनाबमोजिम काम भइरहेको के.सी.को भनाइ छ ।
Categorized in स्थानीय