arin enterprises

संयुक्त राष्ट्र संघ विज्ञान, प्रविधि र नविनता पुरस्कारबाट एरोसान सम्मानित

SamacharDesk – बिराज | २०७८ बैशाख २३, बिहिबार

एरोसान हव संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०२० अन्तरगत विज्ञान, प्रविधि र नविनता (United Nations Science; Technology & Innovation (UN STI) call for Innovations) पुरस्कारबाट सम्मानित भएको छ ।

स्मार्ट नमुना सार्वजनिक शौचालयका लागि एरोसानलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

संयुक्त राष्ट्र संघको बुधबार सम्पन्न भर्चुअल सम्मेलनमा एरोसानलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

एरोसानको नेतृत्व गर्दै एरोसान सस्टेनेवल स्यानीटेसन नेपालका कार्यकारी प्रमुख प्रकाश अमात्यले सहभागिता जनाउँदै पुरस्कार ग्रहण गर्नुभयो ।

कार्यक्रममा आफ्नो नमुना शौचालयको प्रस्तुती दिनका लागि एरोसानलाई आमन्त्रण गरिएको थियो । साथै कार्यक्रममा सहभागीता जनाउन एरोशानका कार्यकारी प्रमुख अमात्य न्यूयोर्क जाने कार्यक्रम पनि रहेको थियो ।

तर अहिले कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी रहेको अवस्थामा अमात्य उता जान सकेनन् र उनले भर्च्युअलमाध्यमबाटै कार्यक्रममा सहभागीता जनाएका थिए ।

उक्त पुरस्कारका लागि विश्वभरीबाट हजार वटा संस्थाको आवदेन परेको थियो । हजार आवेदकहरुबाट एरोशानलाई पुरस्कारको लागि छनौट गरिएको हो ।

एरोसानले काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा नयाँ स्मार्ट शौचालय र भएका  पुराना सार्वजनिक शौचालयको पुनः निर्माण गरि अत्याधुनिक शौचालयमा रुपान्तरण गरेको छ ।

एरोसानले रत्नपार्क, नयाँबानेश्वर, बुद्धपार्क र मंगलबजारमा गरि हाल ४ वटा नमुना शार्वजनिक शौचालय संचालनमा ल्याईसकेको छ । त्रिपुरेश्वर र पाटन ढोकामा यही वर्षबाट संचालनमा ल्याउने उद्देश्यका साथ निर्माण कार्य भईरहेछ ।

एरोसान हवद्वारा संचालित यी सार्वजनिक शौचालय अत्याधुनिक, स्वच्छ, महिला मैत्री, अपाङ्ग मैत्री र समुदायमा आधारित रहेको दावी गरिएको छ ।

उक्त शौचालयहरुमा महिलाहरुको लागि स्वचालित मेसिनबाट स्यानिटरी प्याड किन्ने व्यवस्था गरिनुका साथै प्रयोग भएको प्याडको व्यवस्थापनका लागि प्याड जलाउने मेसिन पनि जडान गरिएको छ । बालबालिकाहरुको डाइपर परिवर्तन गर्ने स्थान पनि उक्त शौचालयहरुमा उपलब्ध रहेको छ ।

यस शौचालयमा सरसफाईका लागि आकाशे पानी संकलन गरि प्रयोग गरिएको छ ।

शौचालयबाट निस्कासित ठोस तथा तरल फोहोरलाई ढलमा नफाली उर्जाको रुपमा वाँयोग्यास निर्माण गरिएको छ भने फोहोर पानीलाई प्रशोधन गरि पुनः प्रयोग गरिएको छ ।

Categorized in समाज