जात्रा अवलोकन गर्न भनी घरबाहिर ननिस्कन आग्रह
SamacharDesk – बिराज | २०७८ बैशाख ३१, शुक्रबार

ललितपुरका जातीय समाजहरुले यस वर्ष रातो मच्छिन्द्रनाथको रथजात्राको क्रममा रथयात्रा अवलोकन गर्न भनी बाहिर नआउन सबैमा अनुरोध गरेको छ ।
ललितपुरका १९ जातीय समाजको साथमा वौद्ध विहार संघ र नेपालभाषा मंकाः खलः यलले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आफु र आफ्नो समुदायलाई सुरक्षित राख्न जात्रा अवलोकन गर्न भनी कोही पनि बाहिर ननिस्किन आग्रह गरेको हाे ।
कोरोना संक्रमणको बढ्दो जोखिमका बीच यस वर्षको मच्छिन्द्रनाथको रथयात्रा आउँदो जेठ १ गते सांकेतिक रुपमा रथ तानेर सम्पन्न गर्न लागिएको छ ।
दमकल अगाडी रथ बनाउने स्थानबाट पुल्चोकको मन्दः फल्चासम्म रथ तानेर यस वर्षको रथयात्रा सम्पन्न गरिने उक्त विज्ञप्तीमार्फत जानकारी गराइएको छ ।
स्वास्थ्य मापदण्ड अपनाई मच्छिन्द्रनाथको जात्रा व्यवस्थित रुपमा सम्पन्न गर्न भनी सांसदहरु, ललितपुर महानगरपालिका, सुरक्षा निकाय, जातीय समाजहरु, ज्योतिष, पानेजु, बाराही, ञवाः, घःकू लगायतका सरोकारवालाको उपस्थितीमा भएको छलफलबाट यस्तो निर्णय गरिएको जानकारी पनि सोही विज्ञप्तीमार्फत गराइएको छ ।
