छत्रपाटी विशेष कोभिड अस्पताल संचालनमा आयो
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ १२, बुधबार

काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ ।
आज सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा अस्पतालको शुभारम्भ गर्नुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै राज्यमन्त्री मानन्धरले कोभिड नियन्त्रणका लागि विज्ञानमा आधारित समाधान नआएसम्म प्राप्त उपलब्धी र सामुहिक प्रयासको प्रयोग गर्नुपर्ने सुझाव राख्नुभयो । महामारीले नेपालमा अस्पतालहरुको अवस्था बुझ्न मद्दत गरेको उहाँको भनाई थियो ।
‘व्यक्ति वा कुनै समूहभन्दा स्वास्थ्य सम्बन्धि कार्यक्रम माथि हुन्छ, अहिले महामारीको अवस्थामा हरेक समूह, वर्ग संघसंस्था मिलेर अघि बढ्नुको विकल्प छैन’ मानन्धरको भनाई थियो ।
सो अवसरमा महानगर प्रमुख शाक्यले अहिले जनताको जीवन रक्षाका लागि आवश्यक देखिएका सबै कामलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले छत्रपाटी अस्पताल लिफ्ट जडान गर्न ३० लाख रुपैयाँ उपलब्ध गराएको र नयाँ भवन निर्माणका लागि करीब ५ करोड रुपैयाँ विनियोजन गरेको स्मरण गराउनुभयो ।
अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अक्सिजन व्यवस्थापनमा ठुलो चुनौती देखिएकोले प्लान्ट स्थापना गर्ने योजनामा रहेको बताउनुभयो ।
‘अस्पतालमा सम्भवतः भोलिबाटै एचडियू शुरुवात हुनेछ भने सक्दो चाँडो आइसीयू पनि शुरु गर्नका लागि हामीहरु लागिरहेका छौं’ अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।
अस्पतालमा ७ वटा आइसीयू रहनेछ भने ४ वटा भेन्टिलेटर, ६ वटा एचडीयूसहित ३५ वेडको कोभिड अस्पताल सञ्चालन गरिएको हो ।
महानगरको सहयोगमा यो कोभिड अस्पताल संचालनमा ल्याइएको हो । अस्पताल संचालनका लागि महानगरले पूर्वाधार सुधार गर्न एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५ र मासिक सञ्चालन खर्चवापत् करीब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ व्यहार्नेछ ।
केही दिन अगाडी मात्र महागनरले चिकित्सालयलाई २ वटा भेन्टिलेटर पनि उपलब्ध गराएको थियो । यसैगरी अस्पतालले खरिद गर्ने थप ३ वटा भेन्टिलेटरको रकम महानगरले भुक्तानी गर्ने बताइएको छ ।
अस्पताललाई माइन्डरे नामक कम्पनीले २४ लाख रुपैयाँ बराबरको एनेस्थेसिया मेसीन र साढे ५ लाख बराबरको सेन्टर मोनिटरिङ सिस्टम सहयोग गरेको छ । उक्त सिस्टमको सहयोगले चिकित्सकले घरैबाट पनि अस्पतालमा बिरामीको अवस्था हेर्न सक्ने बताइएको छ ।
Categorized in समाज