arin enterprises

नेपालभाषा शिरोमणिसँगै तन्त्रविद्लाई समाजको श्रद्धान्जली

SamacharDesk – बिकाश | २०७८ जेठ १५, शनिबार

वैयाकरणविद्को रुपमा परिचित नेपालभाषा शिरोमणि रमापति राज शर्मा राजोपाध्यायको विद्वता र भाषाविज्ञानको क्षेत्रमा उनको वैज्ञानिक क्षमताको बारेमा आज चर्चा गरिएको छ ।

राजोपाध्याय समाजले आज आयोजना गरेको भर्च्युअल श्रद्धान्जली सभाका वक्ताहरुले नेपाभलाषा शिरोमणि शर्माले भाषाविज्ञान क्षेत्रमा दिनुभएको योगदानको बारेमा चर्चा गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्येता योगेश राज मिश्रले राजोपाध्यायसँग प्रकृतीको चालमा ध्वनि विज्ञानका आधारहरु खोज्ने क्षमता विचार राख्नुभयो । राजोपाध्यायले विना कुनै कितावको अध्ययन प्रकृतिको चाल, शैलीको अध्ययन गर्दै भाषाविज्ञानका सिद्धान्त प्रतिपादन गर्नुभएको उहाँले बताउनुभयो ।

त्यस्तै साहित्यकार तिलक प्रकाश कायस्थले राजोपाध्यायले वैयाकरण क्षेत्रमा निरन्तर कलम चलाएर विभिन्न पुस्तक र लेखहरुले दिएर भाषाविज्ञान क्षेत्रलाई सम्पन्न बनाएको बताउनुभयो ।

सोही कार्यक्रममा संस्कृतिविद् पण्डित हेरम्बानन्द राजोपाध्याय र समाजका संस्थापक सदस्य अनुराजा जुजु राजोपाध्यायलाई पनि श्रद्धान्जली अर्पण गरिएको थियो ।

विद्यालयमा अध्यापनको क्रममा स्वर्गीय हेरम्बानन्दसँग सहकार्य गरेका हरिराम श्रेष्ठले उनको व्यक्तित्वको चर्चा गर्दै स्वर्गीय हेरम्बानन्द आफ्नो कर्म र अध्ययनलाई प्राथमिकतामा राख्ने व्यक्ति भएको चर्चा गरे ।

नेवाः संस्कृति, संस्कारको अध्ययन र प्रतिलेखनमै तल्लीन रहने हेरम्बानन्दले आफुसँग भएको ज्ञान बाँड्नमा कहिल्यै कन्जुस्याईँ नगरेको श्रेष्ठले बताउनुभयो ।

स्वर्गीय हेरम्बानन्दका कान्छो सुपुत्र राजीव राजोपाध्यायले आफ्ना पिताले कर्मकाण्ड साथै निगमागम तन्त्राचार सम्वन्धि थुप्रै पुस्तकहरुको लेखन साथै प्रतिलेखन गर्नुभएको बताउँदै ती पुस्तकहरुले संस्कारको निरन्तरताका लागि नयाँ पुस्तालाई ठुलो टेवा पुग्न सक्ने बताउनुभयो ।

समाजका संस्थापक अध्यक्ष बदन ज्वालानन्द राजोपाध्यायले संस्थाको स्थापनाकालमा संस्थाको शुरुवात गर्नेदेखि यसको निरन्तरतासम्मका लागि संस्थापक सदस्य अनुराजा जुजुले महत्वपूर्ण योगदान दिनुभएको बताउनुभयो ।

कार्यक्रममा दिवंगत व्यक्तित्वहरुको बारेमा समाजका निवर्तमान अध्यक्ष अमरराज राजोपाध्याय र अध्यक्ष संजय शर्मा राजोपाध्यायले पनि आ–आफ्नो विचार राखेका थिए ।

Categorized in समाज