arin enterprises

कोभिडविरुद्धको संघर्ष अभियानमा भक्तपुरका संस्थाहरु

SamacharDesk – बिराज | २०७८ जेठ १७, सोमबार

कोभिड महामारीबाट जोगिन भक्तपुरमा व्यावसायिक र सामाजिक संघसंस्थाहरुको सक्रियता बढेको छ ।

भक्तपुर चेम्बर अफ कमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिको संयोजनमा एघार वटा संस्थाहरुले संयुक्त रुपमा कोभिड– १९ विरुद्ध अभियानै चलाएका हुन् ।

‘सेवा परमो धर्म अभियान अन्तर्गत कोभिडसँग लड्छौं, हामी सेवा दिन्छौं । नारा दिएर कोभिडविरुद्धको संघर्षमा छौं’ नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य (भौतिक पूर्वाधार सभापति) तथा भक्तपुर लायन्स सेवा समन्वय समितिका सेक्रेटरी रोशन भ्वयद्यःले बताए ।

कोभिड संक्रमितहरुको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य परिचारिकाहरुको लागि जेठ १७ देखि विशेष किसिमको क्वारेन्टिन सेन्टर सन्चालनमा आउने भ्वयद्यःले जनाए । त्यस्तै जेठको तेस्रो हप्तादेखि अक्सिजन सिलिन्डर उपलब्ध गराउने तयारी भइरहेको छ ।

अभियानले चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित कोभिड– १९ आइसोलेसन सेन्टर नेकसँग सहकार्य गरेको छ ।

संक्रमण नियन्त्रणको सवालमा आइसोलेसन सेन्टरलाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्थापन गरिएको भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका संस्थापक अध्यक्ष न्हुछेरत्न मानन्धरले जनाए ।

परमो धर्म अभियानले जेठको पहिलो हप्तादेखि भक्तपुरमा कोभिड बिरामीको लागि चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । त्यसको लागि हटलाइन नं. ९८६१७५६४६१ सार्वजनिक गरिएको छ ।

त्यस्तै, भक्तपुर जिल्ला प्याव्सनका वरिष्ठ उपाध्यक्ष तथा चेम्बरका सचिव सुरेन्द्र श्रेष्ठले भर्चयुअल सचेतना तथा परामर्श कार्यक्रम नियमित रुपमा प्रत्येक साता दुईवटा आयोजना गरिने बताए । सो कार्यक्रममार्फत संक्रमण सम्बन्धिको सचेतना, सतर्कता र अपनाउनुपर्ने सुरक्षाको विषयमा जानकारी लिनसकिने उहाँले दाबी गरे ।

त्यस्तै, भक्तपुर लायन्स सेवा समन्वय समिति, समितिमा आवद्ध क्लब तथा मनकारी व्यक्तिहरूले भक्तपुर नगरपालिकाले सुरू गर्ने अक्सिजन प्लान्टको लागि तीन लाख रूपियाँ सहयोग गरेको समितिका संरक्षक तथा पूर्व डिष्ट्रिक्ट गभर्नर कृष्ण प्रसाद अवालले जनाए ।

आगामी दिनमा चिकित्सक, स्वास्थ्यकर्मी लगायतको टिमबाट घरघरमै पुगेर पीसीआर परीक्षण, रगत जाँच तथा आवश्यक परामर्श सेवा उपलब्ध हुने लायन्स सेवा समन्वय समितिका अध्यक्ष विष्णुभक्त मारिखुंले बताए ।

‘म लगायतको १६ जना चिकित्सकीय टिम तयार छौं । थप केहि संख्यामा स्वास्थ्य परिचारिकाहरु पनि सोही टिममा संलग्न हुनेछन् र प्रत्येक दिन दुईजना चिकित्सकबाट निःशुल्क परामर्श उपलब्ध गराउनको लागि सामाजिक सञ्जालमार्फत सम्पर्क नम्बर सार्वजनिक गर्दैछौं ।’

भक्तपुर डक्टर्स सोसाइटीका अध्यक्ष डा. पुण्यराम खर्बुजाले जनाए । कोभिडविरुद्धको संयुक्त सेवा अभियानमा भक्तपुर जिल्ला प्याब्सन, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर डक्टर्स सोसाइटी, नेपाल नर्सिङ संघ, सीबीआर, भक्तपुर हार्ट एण्ड डायवेटिज सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ संघ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थाहरूले संस्थागत सहकार्य गरेक छन् ।

त्यस्तै नेपाल नर्सिङ संघका केन्द्रीय सदस्य हरि प्रसाद कोजु र लायन्स ३२५ ए २ का रिजन चियर पर्सन रंजित मारिखुं यस अभियानमा  सक्रिय सहभागी छन् ।

Categorized in समाज