हात्ती छिर्यो पुच्छर अड्क्यो नहोस्, साल्ट ट्रेडिङको सेवा
SamacharDesk – रेखा शाक्य | २०७८ जेठ २२, शनिबार

म काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा बस्छु । शुक्रबार काम विशेषले वडा कार्यालय पुगेको थिएँ ।
अहिले महामारीको अवस्थामा अत्यावश्यक सेवा मात्र दिइरहेको वडा कार्यालयमा भीड त खासै थिएन । तर एक एक गर्दै सेवा लिन आउने सेवाग्राही खाली पनि थिएन ।
त्यहाँ मैले जुन दृश्य देखें, त्यसले मलाई अचम्भित तुल्यायो । म त्यहिँ हुँदैमा चार जना मानिसहरु वडा कार्यालय पुगे । सबैको एउटै समस्या ।
पहिलो व्यक्ति :
मोटरसाइकल हुइँक्याउँदै एक पुरुष त्यहाँ आइपुगे । ‘मेरो यो नागरिकता फोटोकपि गरिदिनु न’ वडा कार्यालयमा कार्यरत कर्मचारीलाई उनले अनुरोध गरे ।
‘यो फोटोकपी गर्ने ठाउँ हो र ? वडा कार्यालयमा पनि फोटोकपी गराउन आउने भनेको हुन्छ र ?’ संक्रमणको जोखिमका बीच पनि अत्यावश्यक सेवा दिनलाई बसेका कर्मचारीलाई झर्को मान्दै कर्मचारीले जवाफ दिए ।
‘खिचापोखरीदेखि आएको छु साल्ट ट्रेडिङमा ग्याँस लिन, नागरिकताको फोटोकपी अनिवार्य भन्यो, अब निषेधाज्ञामा कहाँ जानु, त्यत्ति गरिदिनु न’ ती पुरुषको समस्या सुनेपछि वडा कार्यालयका कर्मचारीले पनि फोटोकपी गरिदिए ।
दोश्रो व्यक्ति :
एक महिला आइन्, अनुहार हेर्दा तिनको उमेर ६० वर्षको आसपास त होला । ‘बाबु, साल्ट ट्रेडिङमा चिनी अलि र पिठो किन्न आएकि, नागरिकताको फोटो कपी चाहिन्छ रे, यो एउटा फोटोकपी गरिदिनु न ।’
ती कर्मचारी पड्किए, ‘हैन, यस्तो निषेधाज्ञाको बेला नागरिकताको फोटाकपी माग्ने अनि आफै गरिदिए हुन्थ्यो नि, के गर्या यो साल्ट ट्रेडिङले ?’
तेश्रो र चौथो व्यक्ति :
अरु दुई जना मानिसहरु त्यहाँ आएको देख्ने वित्तिकै कर्मचारीले रिस पोख्दै भने, ‘अब तपाईँहरु पनि नागरिकता फोटोकपी गराउन आउनुभएको होला होइन ? सक्दिन म, वडाको काम हो यो ? साल्ट ट्रेडिङमै गएर भन्नुस् ।’
दुवै मानिसहरुले केही भनेनन्, चुप लागेर हातमा भएको नागरिकता देखाउँदै बसिरहे ।
कर्मचारी पनि मान्छे नै हुन्, मानवीय भावना हुने भइहाल्यो । समस्यामा परेकोको समस्या बुझ्दै उनले फेरी नागरिकता लिए र फोटोकपि गरिदिए ।
उपत्यकामा हाल निषेधाज्ञा जारी रहँदा उपत्यकावासीको जीवन कष्टकर बनिरहेको छ । संक्रमणको जोखिमका बीच घरमै थुनिएर रहन बाध्य हुँदा एकातिर मनोवैज्ञानिक समस्याको सम्भावना पनि बढेको छ भने अर्कोतिर आम्दानी ठप्प भएको समयमा बजार भाउ आकासिएको छ ।
भन्ने वित्तिकै किन्न पनि नसकिने र पाइए पनि महङ्गो मूल्य तिर्नुपर्ने समस्याबाट उपत्यकाबासी पिरोलिएका छन् । यस्तोमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले दैनिक उपभोग्य सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदा उपत्यकाबासीले केही राहतको भने महसूस गरेका छन् ।
साल्ट ट्रेडिङले खाना पकाउने एलपि ग्याँस प्रति सिलिण्डर एक हजार १२० रुपैयाँ उपलब्ध गराएको छ । त्यस्तै पिठो प्रतिकेजी ४४ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँ, नुन प्रतिकेजी १६ रुपैयाँ र चिनी प्रतिकेजी ६३ रुपैयाँमा उपलब्ध गराइरहेको छ ।
तर नागरिकता फोटोकपीको समस्याले भने सबैलाई सताएको छ । यति मात्र होइन, नागरिकता फोटोकपिसँगै परिवारका सदस्यको नाम र संख्या समेत उल्लेख गरेर दिनुपर्ने ।
पैसा तिरेर नै किन्ने हो । अझ थोरै सामान किन्नलाई टन्टलापुर घाममा लाइन बस्नुपर्ने अर्को सास्ती । यति भइसकेर पनि फेरी नागरिकताको फोटोकपि ।
यो किन आवश्यक हो भन्ने प्रश्न त छँदैछ । आवश्यक नै हो भनेपनि निषेधाज्ञामा फोटोकपि गराउन समस्या हुन्छ, आम नागरिकले सास्ती भोग्नुपर्ला भनेर साल्ट ट्रेडिङले नबुझेकै हो त ? कि २०७८ सालको जनगणना पनि यसैसँग सम्पन्न गर्न लागेको हो ?
महामारीको समस्यासँगै आर्थिक समस्याले पनि गाँज्न थालेको समयमा साल्ट ट्रेडिङले उपलब्ध गराएको सुविधा त सर्हानीय छ तर प्राविधिक समस्या खडा गरेर यसले अर्को समस्या थपिदिएको जस्तो भयो ।
हात्ती छिर्यो, पुच्छर अड्क्यो जस्तो नहोस् जनताको लागि । यस्ता प्राविधिक पक्षको लागि कुनै तरीका अपनाएर सहज बनाइए सबैले सुविधाको फाइदा पनि लिन सक्नेथिए ।
Categorized in विचार