मात्र साढे १७ हजार परिक्षण
SamacharDesk – बिकाश | २०७८ जेठ २५, मंगलबार

नेपालमा कोभिड १९ संक्रमित पहिचानको क्रममा पछिल्लो २४ घण्टामा मात्र १७ हजार ६७६ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ ।
१२ हजार ६५ आरटी पिसिआर र ५ हजार ६११ एन्टिजेन गरि १७ हजार ६७६ जनाको स्वाब नमूनाको परिक्षण गरिएको हो ।
पछिल्ला दिनहरुमा परिक्षण संख्या घटेसँगै आम सर्वसाधारणले सामाजिक संजालमा यसको चर्को विरोध गरिरहेका छन् । आर्थिक वर्षको अन्त्यतिर पुगेपछि कर उठाउनका लागि संक्रमित संख्या कम देखाउन परिक्षण घटाएको भन्दै सर्वत्र विरोध भइरहेको छ ।
नयाँ भेरिएन्टको संक्रमण तीब्र गतिमा फैलिरहेको बेलामा परिक्षण संख्या घटाउन नहुने भन्दै चिकित्सक एवम् जनस्वास्थ्यविद्हरुले पनि ध्यानाकर्षण गराइरहेका छन् ।
चारैतर्फबाट परिक्षणको दायरा बढाउनका लागि आवाज उठिरहेको बेला सम्वन्धित निकायले भने यसतर्फ कुनै चासो देखाएको छैन । परिक्षणलाई बढाउनका लागि पहल गर्नुको साटो बरु उल्टै दिनहुँ परिक्षणको संख्या घटाउँदै लगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय श्रोतले परिक्षणको सम्पूर्ण व्यवस्थापन इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले गर्दै आएको भन्दै परक्षण संख्या घटाइनुको कारण महाशाखाले नै खुलाउनसक्ने बताएको छ ।
महाशाखाले पनि यस विषयमा अहिलेसम्म कुनै स्पष्ट जवाफ दिएको छैन । महाशाखाका कर्मचारीहरुले यस विषयमा निर्देशक तहबाटै निर्णय हुने हुँदा निर्देशकहरुसँग नै सोध्नका लागि भन्दै पन्छिने गरेका छन् ।
Categorized in राष्ट्रिय