बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाईँदै
SamacharDesk – बिराज | २०७८ जेठ २९, शनिबार

आज जुन महिनाको १२ तारीख, बालश्रम विरुद्वको अन्तराष्ट्रिय दिवस ।
बालश्रमविरुद्ध आवाज बुलन्द गर्दै बालकालिकाको अधिकारका लागि विश्वभर विभिन्न कार्यक्रम गर्दै आज यो दिवस मनाइदैँछ । नेपालमा पनि कोरोना महामारीको बीच भच्र्युअल कार्यक्रमहरुको आयोजना गरिदैछ ।
बालबालिका सम्बन्धी ऐन, २०७५ ले १८ वर्ष भन्दा मुनिका व्यक्तिलाई बालबालिका भनेर परिभाषित गरेको छ । नेपालको संविधानले बालबालिकाहरुलाई कलकारखाना, खानी वा अन्य कुनै पनि प्रकारका जोखिमपूर्ण काममा लगाउनु कानूनतः गैरकानूनी मानेको छ ।
तर कानूनमा उल्लेख भए अनुसार व्यवहारमा लागू हुन सकेको देखिँदैन । यहाँ बालश्रममा कमी आउनुको साटो झन बढ्दो देखिएको छ ।
गरिबी र शिक्षाको पहुँचसम्म पुग्न नसक्नुको कारणले नेपालमा धेरै बालबालिकाहरु जोखिमपूर्ण काममा आवद्ध हुन बाध्य छन् ।
सरकार र ठुला राजनीतिक दलका नेताहरुले देश विकासको बाटोमा लम्किरहेको बताईरहँदा, समृद्धिको नारा घन्काइरहँदा धेरै बालबालिकाहरु गाँस, बास र कपासजस्ता न्यूनतम अधिकारबाटसमेत बन्चित छन् । ठुलो संख्यामा बालबालिकाहरु शिक्षाको पहुँचभन्दा टाढै छने ।
केन्द्रीय तथ्यांक विभागको नेपाल श्रमशक्ति सर्वेक्षण २०७६ अनुसार नेपालमा १७ वर्षमुनिका करिब २ लाख ८६ हजार बालबालिका थोरै आम्दानीको लागि जोखिमयुक्त श्रममा आवद्धमा छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को आह्वानमा सन् २००२ बाट यो दिवस मनाउन थालिएको हो ।
निकृष्ट प्रकारको बालश्रम विरुद्ध अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि र श्रममा संलग्न हुने न्यूनतम उमेरसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको स्मरणमा १२ जुनलाई बालश्रम विरुद्धको विश्व दिवसका रूपमा संसारभरी मनाइने गरिन्छ ।
Categorized in समाज