arin enterprises

उपत्यकाका कुल संक्रमितमध्ये ९३ प्रतिशत निको

SamacharDesk – बिकाश | २०७८ जेठ २९, शनिबार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का ६ सय भन्दा कम नयाँ संक्रमित भेटिएका छन् ।

देशभरीबाट थप हुने नयाँ संक्रमितमध्ये ५९८ जना उपत्यकामा रहेका छन् । काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै उपत्यकाको कुल संक्रमित संख्या २ लाख ५५ हजार ७५० पुगेको छ ।

तीमध्ये ९२ दशमलव ८४ प्रतिशत निको भइसके । हालसम्म २ लाख ३७ हजार ४४७ संक्रमित संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो पटक एक हजार ८९० संक्रमित निको हुँदै डिस्चार्ज भएका छन् ।

उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या १५ हजार ६८३ रहेको छ । उपत्यकामा विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये एक हजार १८ जना जनरल/एचडियूमा उपचाररत छन् ।

आइसीयूमा उपचाररत ४०८ जनामध्ये १६९ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

उपत्यकामा थप १६ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा १३, ललितपुरमा २ र भक्तपुरमा एक जना संक्रमितको मृत्यु भएको हो । हालसम्म उपत्यकामा २ हजार ६२० जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । 

Categorized in समाज