arin enterprises

सिथि नखःमा आकाशेपानी संकलन सम्वन्धी अन्तरक्रिया

SamacharDesk – बिराज | २०७८ आषाढ ३, बिहिबार

नेवाः समुदायको एउटा महत्वपूर्ण पर्व सिथिनखःको अवसरमा आकाशे पानी संकलन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गैर सरकारी संस्था गुथिले पानी सम्वन्धि पर्व सिथिनखःको अवसरमा भर्च्युअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा पूर्व वातावरण तथा विज्ञानमन्त्री गणेश शाहले पानीको प्रत्येक थोपा महत्वपूर्ण रहेको र आकाशेपानी पानीको महत्वपूर्ण स्रोत भएको धारणा राख्नुभयो ।

उनले नेपालमा मनसुनको सुरुवात संगै विभिन्न ठाउँमा बाढी पहिरोले ठुलो धनजनको क्षति गरेकोतर्फ ईगित गर्दै दैवी प्रकोप रोकथामका लागि आकाशेपानी संकलन र जमिन पुनःभरणको बैज्ञानिक प्रविधिको विकासले केही सहजिकरण गर्न सकिने बताउनुभयो ।

‘सरकारले प्रत्येक सरकारी भवन, विद्यालय र संयुक्त वसोवास क्षेत्रमा आकाशेपानी संकलन र पानी पुनःभरण प्रविधि जडान गर्न जरुरी छ र यस क्षेत्रको विकासका लागि दक्ष मानव जनशक्ति उत्पादन गर्न ढिलो गर्नु हुँदैन’ शाहले भने ।

गत ४० वर्षको तापक्रम र वर्षात सम्बन्धि विभिन्न स्थानमा रहेको स्टेसनबाट तथ्याङ्क संकलन गरि गरिएको अध्ययनलाई अनुसन्धानकर्ता अमिताब बज्र बज्राचार्यले प्रस्तुत गरे ।

आफ्नो प्रस्तुतिको क्रममा बज्राचार्यले प्रदेश नं १ मा प्रत्येक वर्ष ०.०२५८ डिग्री र बागमती प्रद्रेशमा ०.०३२ डिग्रीका दरले तापमानमा वृद्धि भईरहेको जानकारी दिए ।

‘वर्षातको स्थिति हेर्ने हो भने प्रद्रेश नं. १ मा ६.४५ मिमि र बागमती प्रदेशमा १.३४५ मिमि का दरले घट्दै गईरहको छ, यस्तै स्थिति रहे पानीको सतह घट्दै जाने र खडेरी पर्ने सम्भावना बढ्नेछ’ बज्राचार्यले भने ।

परम्परागत ढुङ्गेधारा र पोखरीहरु आकाशेपानीमा निर्भर रहेको र आकाशेपानी रिचार्जका लागि महत्वपूर्ण प्रणाली भएको समिप नारायण श्रेष्ठले बताए ।

आफ्नो अध्ययनमा काठमाडौं महानगरपालिका वडा नं. १४ मा औषतमा प्रति घरधुरि १३८.४२ वर्ग मिटरको छत रहेको र यो आकाशेपानी संकलनका लागि पर्याप्त देखिएको श्रेष्ठले बताउनुभयो ।

का.म.पा. वडा नं. १४ का बासिन्दाहरुले विभिन्न पानीको श्रोतको प्रयोग गर्दै आएको र करीब ५५ प्रतिशत घरहरुमा आकाशेपानी बैकल्पिकरुपमा प्रयोग गर्दै आएको जानकारी उहाँले दिनुभयो ।

कार्यक्रममा काठमाडाैं महानगरपालिका शहरी विकास योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सन्जीव विक्रम राणा, आयोजना प्रमुख ज्ञानेश बज्राचार्यलगायतले आकाशे पानीको विषयमा आआफ्नो धारणा राखेका थिए ।

Categorized in समाज