arin enterprises

शताब्दी पुरूष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

SamacharDesk – बिजयरत्न | २०७८ आषाढ ४, शुक्रबार

किस्ट अस्पतालमा उपचाररत वाङमय शताब्दी पुरूष संस्कृतिविद् डा.सत्यमोहन जोशी आज अस्पतालबाट डिस्चार्ज भई आफ्नो घर फर्कनुभएको छ ।

स्वास्थ्यमा सुधार भई सामान्य हिँडडुल गर्न थालेपछि उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले बताउनुभएको छ ।

अस्पताल स्रोतका अनुसार डा.जोशीलाई श्वासप्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडी र रक्तचापमा कमी देखिएको थियो ।

डिस्चार्ज भई घर पुग्नुभएका शताब्दि पुरुष डा जोशीको एक हप्तापछि फेरी स्वास्थ्य अवस्थाको जानकारी लिइने अस्पतालका छातीरोग विशेषज्ञ प्रा.डा. मिलेशजङ्ग सिजापतीले बताए ।

वर्तमान परिस्थितिलाई मध्यनजर गरी आगामी दुई हप्ता उहाँलाई फोन एवं भेटघाट नगरि आराम गर्न दिन अनुरोध गरिएको छ ।

मुटुमा समस्या देखिएपछि गत जेठ २६ गते डा.जोशीलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

शताब्दि पुरुष जोशी गत वैशाख ३० गते १०२ वर्षमा प्रवेश गर्नु भएको थियो । डा.जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले किस्ट मेडिकल कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि आआफ्नो शरीर मरणोपरान्त दान गरि सक्नुभएको छ ।

Categorized in समाज