विश्व विजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड ६७ वर्षपछि क्वाटरफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १५, मंगलबार

युरोकप युरोकपको साविक उपविजेता तथा विश्वकप विजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरोकप २०२०को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार राति रोमानियामा भएको प्रि–क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।
रोमान्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे ।
यस्तै फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गर्दा केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके । उनको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए ।
यसअघि खेलमा सुरुवाती अग्रता स्विट्जरल्यान्डले बनाएको थियो । खेलको १५ औं मिनेटमा हरिस सेफेरोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई १–० गोलको अग्रता दिलाएका थिए ।
खेलको ५५ औं मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टीमा गोल गर्ने अवसर पायो । तर, स्विट्जरल्यान्डका रिकार्डो रोड्रिगेजले गरेको पेनाल्टी प्रहार फ्रान्सका गोलकिपर ह्युगो लोरिसले बचाए ।
५७ औं मिनेटमा र ५९ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दा ७५ औं मिनेटमा पाउल पोग्बाले गोलमा गर्दै फ्रान्सलाई ३–१ गोलको अग्रता दिलाए । पोग्बाले बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।
तर, खेलको ८१ औं मिनेटमा केभिनको पासमा स्विट्जरल्यान्डका हरिस सेफेरोभिचले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ९० औं मिनेटमा मारियो गाभ्रानोभिचले गोल गरेपछि खेल ३–३ गोलको बराबरी हुँदा खेल अतिरिक्त समयमा गएको थियो ।
योसँगै स्विट्जरल्यान्ड ६७ वर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । यस अघि स्विट्जरल्यान्ड १९५४ को विश्वकपमा क्वाटरफाइनल पुगेको थियो ।
अब स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
विश्व विजेता फ्रान्स भने अन्तिम १६ बाट बाहिरिएको छ ।
Categorized in स्पाेर्ट्स