arin enterprises

स्विडेनलाई पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १६, बुधबार

 स्विडेनलाई पराजित गर्दै युक्रेन युरोकप २०२० फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको प्रि–क्वाटरफाइनलमाको अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै युक्रेनले क्वाटरफाइनलमा स्थान बनाएको हो  ।

अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिम दोभ्बिकले गोल गर्दै युक्रेनलाई २–१ को महत्वपूर्ण जित दिलाए ।

यसअघि खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । २७ औं मिनेटमा ओलेक्सान्डर जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएको थिए भने ४३ औं मिनेटमा इमिल फोर्सवर्गले गोल गर्दै स्विडेनलाई १–१ को बराबरीमा ल्याए ।

यस्तै खेलको ९८ औं मिनेटमा स्विडेन १० खेलाडीमा समेटिएको थियो । युक्रेनका अर्टिमलाई फल गरेपछि मार्कुस डानिलसनले रातो कार्ड पाएका थिए ।

यो जितसँगै युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोलि बनेको छ भने युरोकपको क्वाटरफाइनल समीकरण समेत पूरा भएको छ ।

स्विडेन भने अन्तिम १६ बाटै बाहिरिएको छ । अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

Categorized in स्पाेर्ट्स