२ हजार २९९ नयाँ संक्रमित थप
SamacharDesk – बिकाश | २०७८ आषाढ १८, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा परिक्षण संख्याको २१ दशमलव ६९ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
जम्मा १० हजार ५९६ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २ हजार २९९ जनामा कोभिड संक्रमण देखिएको हो ।
६ हजार ५६६ जनाको आरटी पिसिआर परिक्षणमा एक हजार ३९१ जना र ४ हजार ३० जनाको एन्टिजेन परिक्षणमा ९०८ जना संक्रमित भेटिएका हुन् । तीमध्ये ५६ जना १० वर्षसम्मका बालबालिका छन् भने १०२ जना ११ देखि २० वर्ष उमेर समूहका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ६ लाख ७८ हजार ८०८ पुगेको छ ।
संक्रमित संख्यासँगै संक्रमण निको हुनेको दर पनि बढ्दै गएको छ । हालसम्म कुल संक्रमितमध्ये ९४ प्रतिशत संक्रमणमुक्त भइसके ।
संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
संक्रमणमुक्त हुनेको दर बढ्दै गएको देखिएपनि परिक्षण संख्या घटेकोमा भने चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले चिन्ता पोखिरहेका छन् ।
दैनिक २० प्रतिशत बढि संक्रमित थप भइरहेको अवस्थामा अझै पनि संक्रमणको डर उच्च रहेको भन्दै जनस्वास्थ्यविद्हरुले परिक्षण संख्या बढाउनुपर्ने बताइरहेका छन् ।
हाल २९ हजार २७४ जना सक्रिय संक्रमित उपचाररत छन् । २६ हजार ३३६ जना संक्रमित होम आइसोलेसनमा छन् भने विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितको संख्या २ हजार ९३८ रहेको छ ।
६३२ जना संक्रमित आइसीयूमा उपचाररत छन् भने तीमध्ये १८१ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
थप ३४ जना संक्रमितको मृत्यु भएसँगै कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ ।
सबैभन्दा बढि बागमती प्रदेशमा ३ हजार ९३८ जना संक्रमितको मृत्यु भएको छ भने हजार बढि संक्रमितको मृत्यु भएका प्रदेशहरु प्रदेश एक र लुम्बिनी प्रदेश रहेका छन् । लुम्बिनी प्रदेशमा एक हजार ५४४ र प्रदेश एकमा एक हजार २११ जना संक्रमितको मृत्यु भएको छ ।
Categorized in राष्ट्रिय