१० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १९, शनिबार

स्पेनले युरोकप २०२०को सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन सेमिफाइनलमा पुगेको हो ।
पेनाल्टीमा स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे । स्पेनका सर्जियो बुस्केट्सको प्रहार पोस्टमा लागेर फर्किदा रोड्रीको प्रहार स्विस गोलकिपर यान सोमेरले बचाए ।
यस्तै स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले मात्र गोल गरे । फाबियन, अकान्जी म्यानुएलको प्रहार स्पेनिस गोलकिपर सिमोनले बचाए भने रुबेन भेर्गासको प्रहार बाहिरिएको थियो ।
यसअघि खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
खेलको आठौं मिनेटमा स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गरेपछि स्पेनले अग्रता बनाएको थियो । स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो ।
खेलको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा फर्काए ।
७८ औं मिनेटमा उसका फ्रिउलरले रातो कार्ड पाएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा समेटिएको थियो । स्पेनका जेरार्ड मोरेनोलाई फल गरेपछि उनलाई रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।
अब तीन पटक युरोकप च्याम्पियन स्पेनले सेमिफाइनलमा इटालीसँग खेल्नेछ ।
Categorized in स्पाेर्ट्स