डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ २४, बिहिबार

डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति घरेलु मैदान वेम्बली स्टेडियममा डेनमार्कलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो ।
रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो । ३० औं मिनेटमा मिकेल डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो ।
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको १ सय ४ औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पायो । रहिम स्ट्रर्लिङलाई जोकिम माहेलले पेनाल्टी बक्स भित्र फउल गर्दै लडाएपछि इंग्ल्यान्डले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो ।
कप्तान ह्यारी केनले प्रहार गरेको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर कास्परले रोके पनि रिबाउन्डमा आएको बलमा केनले सहजै गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए ।
योसँगै इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनलमा प्रवेश गरेको हो भने सन् १९६६ पछि पहिलो पटक कुनै मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।
फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ ।
Categorized in स्पाेर्ट्स