अरुण थापालाई सम्झे भक्तपुरका संगीतप्रेमीहरुले
SamacharDesk – बिराज | २०७८ श्रावण ६, बुधबार

भक्तपुरका संगीतप्रेमीहरुले गायक अरुण थापालाई सम्झेका छन् । स्वर्गीय गायक अरुण थापाको २२ औं पुण्य तिथिको अवसरमा मंगलबार भक्तपुरवासीले उनलाई सम्झिएका हुन् ।
गायक थापाको पुण्य तिथिको अवसरमा भक्तपुर सांगीतिक समाजले एक कार्यक्रमको आयोजना गरेको हो । भक्तपुरको दुधपाटीमा आयोजित कार्यक्रममा विभिन्न गायक कलाकारले स्वर्गीय गायक थापाकै गीत गाएर उनलाई श्रद्धान्जली पोखेका थिए ।
कार्यक्रममा थापाको स्मृतीसँग जोडिएका बिबिध पक्षहरुबारे समेत बिचार आदानप्रदान गरीएको थियो ।
कार्यक्रमका वक्ताहरुले गायक थापाको भौतिक शरीर यस संसारबाट विदा भएर गएपनि आफ्ना गीतहरुको माध्यमबाट उनी अमर रहेको भन्दै हरेकले समाजलार्य केहि दिएर जानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम स्वर्गीय थापाले गाएको राष्ट्रिय भावनाले ओतप्रोत गीत “करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल“ को सांगीतिक धुनबाट शुरु गरिएको थियो ।
कार्यक्रममा गायक शम्भोचरण राजभन्डारी, कपिल कसपाल, कुबेर राइ, श्रीजल मधिकर्मी लगायतले गायक थापाका लाेकप्रिय गीतहरू ऋतुहरूमा तिमी, चाेट के हाे, जति माया लाएपनि गीतहरू प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा गायक थापाको कर्णप्रिय गीत “चोट के हो ब्यथा के हो“ का रचयितासमेत रहेका वरिष्ठ गीतकार सुवास चन्द्र ढुंगेल र अर्का वरिष्ठ गायक एवं गायक रोशनकुमार राजभण्डारीको समेत उपस्थिती रहेको थियो ।
बि. सं २००८ सालमा जन्मिएका थापाको २२ वर्ष अघि साउन ५को दिन अल्पायुमै निधन भएको थियो । २०५६ सालमा रोगले थलिएर काठमाडौ बागबजारमा उनको देहान्त भएको थियो ।
कार्यक्रममा भक्तपुर सांगीतिक समाजका अध्यक्ष एवं गायक प्रविण शाही, सचिव अल्बर्ट बज्राचार्यले समाजका गतिविधिहरुका बारेमा प्रकाश पारेका थिए ।
सोही कार्यक्रममा समाजका आजीवन सदस्यद्वय रुकेश रन्जीत र रविन थापालाई सामाजिक जीवनमा पाएको पछिल्लो सफलताका लागि सम्मानसमेत गरिएको थियो ।
Categorized in पेजथ्री