जसपा विवाद बहुमत सदस्यको सनाखतबाट टुङ्ग्याइने
SamacharDesk – बिराज | २०७८ श्रावण ७, बिहिबार

जनता समाजवादी पार्टीको आधिकारिताको विवादलाई निर्वाचन आयोगले कार्यकारिणी सदस्य सनाखतबाट टुंगो लगाउने भएको छ ।
निर्वाचन आयोगले जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गर्ने आदेश दिएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित ५ आयुक्तको इजलासले सनाखतपछि कार्यकारिणी सदस्यको बहुमत पु¥याउने पक्षलाई आधिकारिकता दिने आयोगले निर्णय गरेको हो ।
जसपा कार्यकारणी समितिका सदस्यहरुलाई नागरिकताको सक्कल र मतदाता परिचय पत्रको सक्कल लिएर सनाखतका लागि आयोगले ११ गते बिहीबार बोलाएको छ ।
पार्टी दर्ता गर्दा आयोगको दर्ता पुस्तकमा रहेका प्रस्तावित ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यहरुलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ (६) अनुसार उपस्थित हुन भनेको हो ।
यादव पक्षले पार्टीको बहुमत सदस्य आफुसँग भएको दावी गर्दै आएको छ । इजलासमा उपेन्द्र यादव पक्षबाट वहस गरेका अधिवक्ता बिरेन्द्र कुमार ठाकुरले आयोगको निर्णयले पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने बाटो खुलेको बताउनुभयो ।
‘केन्द्रिय कार्यकारिणी सदस्यहरुको बहुमत उपेन्द्र यादबको पक्षमा छ । त्यसैले पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षमा आउने बाटो खुलेको छ’ अधिबक्ता ठाकुरको भनाई थियो ।
२०७७ साल असार १२ गते समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकता भई जनता समाजवादी पार्टी, नेपाल गठन भएको थियो ।
Categorized in राजनीति