arin enterprises

पूर्व राज्यमन्त्री मानन्धरको साथमा वरिष्ठ निर्देशक जोशी सम्मानित

SamacharDesk – बिजयरत्न | २०७८ श्रावण १८, सोमबार

निवर्तमान शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको साथमा वरिष्ठ कलाकार तथा निर्देशक पवन जोशी सम्मानित भएका छन् ।

बुद्ध शान्त पार्क निर्माण समितिबाट आयोजित कार्यक्रममा पूर्व राज्यमन्त्री मानन्धर र वरिष्ठ निर्देशक जोशीको साथमा कलाकार र निर्माता रामकृष्ण जुजुलाई पनि सम्मान गरिएको थियो ।

राज्यमन्त्री रहँदा एकल गायन कार्यक्रमको आयोजना गरी लगातार ४ घण्टा गीत गाएर बहालवाला मन्त्रीको एकल गायनको विश्व रेकर्ड कायम गरेकोमा मानन्धरलाई सम्मान गरिएको थियो ।

मानन्धरलाई कार्यक्रमका अतिथि ज्येष्ठ नागरिक शान्तदेवी शाक्यले दोसल्ला ओढाउनुभयो भने भिक्षु धर्ममूर्ति महास्थवीरले सम्मान पत्र प्रदान गर्नुभयो ।

सोही कार्यक्रममा चलचित्र क्षेत्रमा ५० वर्ष पुरा गरेका वरिष्ठ कलाकार, वरिष्ठ निर्देशक साथै लेखक र रचनाकार पवन जोशी पनि सम्मानित भएका छन् । यसैगरी चलचित्र क्षेत्रमा ५० वर्ष पुरा गरेको भन्दै कलाकार, निर्माता रामकृष्ण जुजुलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित चलचित्रकर्मीद्वयलाई जेष्ठ नागरिक शाक्यले नै दोसल्ला ओढाउनुभयो भने पूर्व राज्यमन्त्री रामवीर मानन्धरले सम्मान पत्र प्रदान गर्नुभयो ।

सोही कार्यक्रममा बुद्ध शान्तपार्क अनलाइन प्रतिभाको खोजीका विजेताहरु समेत छनौट गरिएको थियो ।

बुद्ध शान्त पार्क निर्माण समितिले आयोजना गरेको अनलाइन बुद्ध भजन प्रतिभाको खोजीका अन्तिम १५ प्रतिस्पर्धीहरुको लाइभ प्रस्तुतिबाट विजेताको छनौट गरी घोषणा गरिएको थियो ।

भजन प्रतियोगिताको फाइनल चरणमा सिद्धार्थ बज्राचार्यले प्रथम स्थान हासिल गरेका थिए भने अमोघरत्न शाक्य दोश्रो भए । तेस्रो स्थानमा मोहनदेवी महर्जन र सबिन श्रेष्ठ रहेका थिए ।

प्रतियोगिताको विजेता छनौटको लागि जन संगीत श्रष्टा अमरराज शर्मा राजोपाध्याय, वरिष्ठ निर्देशक, कलाकार पवन जोशी, संगीतकार लवनी चक्रवर्ति प्रसाईँ, वरिष्ठ ज्ञानमाला गायिका रमना श्रेष्ठ, वरिष्ठ गायिका रिता महर्जन सम्मिलित निर्णायकको रुपमा रहेका थिए ।

Categorized in पेजथ्री