arin enterprises

विश्व आदिवासी दिवस मनाईँदै

SamacharDesk – बिराज | २०७८ श्रावण २५, सोमबार

आज अगष्ट महिनाको ९ तारीख, विश्वभरी विभिन्न कार्यक्रमहरु गरी २७ औं विश्व आदिवासी दिवस मनाईँदैछ ।

आजको दिन समावेशी, समानता, राज्यमा सबैको समतामूलक प्रतिनिधित्वको आवाज उठाउँदै वर्षेनी यो दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि आजको दिनमा वर्षेनी विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरिन्छ । राज्यका सबै निकाय, अङ्गहरुमा आदिवासी जनजातिको समान प्रतिनिधित्वको माग गर्दै र्‍याली, जुलुस, सभाको आयोजना गर्ने गरिन्छ ।

देशमा गणतन्त्र आएपछि विगतको तुलनामा केही परिवर्तन देखिएपनि आदिवासी जनजातिले सन्तुष्टि लिन सकिने अवस्था भने अझै निर्माण हुन सकेको छैन ।

आरक्षणको सुविधाका कारण केही आदिवासी जनजातिहरु प्रशासनिक क्षेत्रमा देखिन थालेपकाे भएपनि पछिल्लो समयमा सर्वोच्च अदालतले जातीय आधारमा आरक्षण नदिन फैसला सुनाएपछि  फेरी पनि हरेक क्षेत्रमा एउटै जातीय समुदायको हालीमुहाली हुने डर बढेको छ ।

दिवसको अवसरमा कोरोना महामारीको त्रासबाट मुक्त स्थानहरुमा भव्यताका साथ कार्यक्रमहरुको आयोजना गरिँदैछ भने संक्रमणको जोखिमको अवस्था विद्यमान देशमा भौतिक उपस्थितीमा कार्यक्रमको आयोजना हुन सकेन ।

नेपालमा पनि संक्रमण दिनानुदिन बढिरहेको अवस्थामा आज यो दिवसलाई भव्यता दिन नसकिएको अवस्था छ । यद्यपि विभिन्न भर्च्युअल कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

विश्व आदिवासी दिवसको ईतिहास

संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले ‘९ अगस्ट’ को दिनलाई ‘विश्व आदिवासी दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो ।

सन् १९८२ मा आदिवासी बारेमा उठेका सवाल सम्बोधनका निम्ति कार्यदल गठन गरिएको थियो भने उक्त कार्यदलको पहिलो बैठक अगस्त ९ मा बसेको थियो ।

सोही दिनको सम्झनामा वर्षेनी ९ अगष्टको दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाउने गरिएको हो ।

Categorized in समाज