विश्व फोटाग्राफी दिवस मनाईँदै
SamacharDesk – बिराज | २०७८ भाद्र ३, बिहिबार

आज अगस्ट महिनाको १९ तारीख, विभिन्न कार्यक्रम गरी विभिन्न तरीकाले एक सय ८२ औं विश्व फोटोग्राफी दिवस मनाईँदैछ ।
फोटोग्राफीको इतिहास बुझाउन, फोटोग्राफी क्षेत्रमा आवद्ध अथाव यस क्षेत्रमा रुचि राख्ने व्यक्तिहरुको प्रोत्साहन र सम्मानका लागि यो दिवस मनाइने गरिन्छ । आज विश्वका विभिन्न देशमा दिवसको अवसरमा कार्यक्रमहरुको आयोजना हुँदैछ ।
संक्रमणको जोखिमबाट मुक्त देशहरुमा भौतिक उपस्थितीका बीच अन्तरक्रिया, फोटो प्रदर्शनी, फोटोग्राफर भेला लगायतका विभिन्न कार्यक्रमहरु हुँदैछ । संक्रमणको जोखिम भएका देशहरुमा भर्च्युअल कार्यक्रमहरुको आयोजना हुँदैछ ।
नेपालमा पनि विगतका वर्षहरुमा प्रभातफेरी, सभा, फोटो प्रदर्शनी लगायतका कार्यक्रमहरु हुने गर्दथ्यो । यस वर्ष कोरोना संक्रमणको जोखिम उच्च रहेको र तेश्रो लहर शुरु हुन सक्ने चर्चाका बीच दिवसका कार्यक्रम भर्च्युअल माध्यममै सिमित भएको छ ।
फोटो प्रदर्शनीका कार्यक्रमहरु आयोजना हुन नसकेपनि सामाजिक संजाल आजको दिनमा फोटोग्राफरहरुका लागि राम्रो माध्यम बनेको छ । फोटोग्राफरहरुले दिवसको शुभकामना दिँदै आफ्नो साथै आफुले खिचेका फोटोहरु सामाजिक संजालमा शेयर गरेका छन् ।
वर्तमान समयमा प्रविधिको विकास भएसँगै फोटोग्राफी क्षेत्र पनि फराकिलो बनिसकेको छ । डिएसएलआर क्यामेरा र यसको सहजताले फोटोग्राफी क्षेत्रमा व्यापकता ल्याएको छ ।
यसैगरी मोबाइल फोनका क्यामेरामा समेत हाइ डेफिनेसन फोटो खिच्न सकिने भएपछि मोबाइल फोटोग्राफी समेत अचेल निकै लोकप्रिय बनेको छ ।
सन् १८३९ जनवरी ९ मा जोसेफ नाइस्फाेर नाइप्सी र लुइस डगेरले डगोरोटाइप प्रक्रियाको शुरुवात गरेका थिए । यसैलाई संसारको पहिलो फोटोग्राफी प्रकृया मानिएको छ ।
त्यसै वर्ष १९ अगस्टका दिन फ्रान्स सरकारले यस आविष्कारको घोषणा गर्दै यसको पेटेन्ट प्राप्त गरेको थियो । यसै दिनको स्मरणमा विश्व फोटोग्राफी दिवस मनाउन थालिएको हो ।
यसैगरी विश्वको पहिलो सेल्फी पनि सन् १८३९ मै खिचिएको थियो । अमेरीकाका रबर्ट कार्नेलियसले यो सालमा आफैले आफ्नो फोटो खिचेका थिए । आज यस्ता फोटोहरु सेल्फीको रुपमा स्थापित भएको छ ।
Categorized in समाज