नयाँ संक्रमण दरसँगै सक्रिय संक्रमित संख्या पनि घट्दै
SamacharDesk – बिकाश | २०७८ भाद्र ७, सोमबार

पछिल्ला दिनहरुमा आएर नेपालमा कोरोना संक्रमणको अवस्था फेरी नियन्त्रणमा आउन थालेको देखिएको छ ।
केही दिन यताबाट संक्रमण थपघट भइरहेकोमा पछिल्ला दिनहरुमा आएर नयाँ संक्रमणको दर पनि घटेर सक्रिय संक्रमितको संख्यामा पनि कमी आउन थालेको छ ।
पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणको जम्मा १५ दशमलव ९० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । ११ हजार ३२६ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा एक हजार ८०१ जना संक्रमित भेटिएका हुन् ।
८ हजार ७०४ पिसिआर परिक्षणमा एक हजार ५४८ र २ हजार ६२२ एन्टिजेन परिक्षणमा २५३ जना संक्रमित भेटिएका हुन् । तीमध्ये ३१ जना १० वर्षसम्मका बालबालिका छन् भने १२४ जना ११ देखि २० वर्ष उमेर समूहका छन् ।
आजसम्ममा कुल ३८ लाख ३९ हजार ३९५ वटा आरटी पिसिआर परिक्षण भएकोमा ७ लाख ४८ हजार ९८१ जना संक्रमित भेटिएका छन् । त्यस्तै ४ लाख ३५ हजार १७७ एन्टिजेन परिक्षणमा ८० हजार ४६२ जना संक्रमित भेटिएका छन् ।
त्यसैगरी हाल होम आइसोलेसन र विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ रहेको छ । केही दिन अघिमात्रै सक्रिय संक्रमितको संख्या ४० हजार नाघिसकेको थियो ।
हाल उपचाररत सक्रिय संक्रमितमध्ये ३५ हजार १३२ जना होम आइसोलेसनमा छन् भने ३ हजार २१९ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् । ६७९ जना संक्रमितलाई आइसीयूमा राखेर उपचार गरिँदैछ भने तीमध्ये १७६ जना भेन्टिलेटरमा छन् ।
संक्रमण निको हुनेको कुल संख्या ७ लाख नाघेको छ । हालसम्ममा ७ लाख ९७ जना संक्रमितले कोरोना भाईरसलाई परास्त गर्दै संक्रमण मुक्त भइसकेका छन् ।
पछिल्लो समय एक हजार ९२४ संक्रमित निको भएका छन् । त्यसैगरी यसै अवधिमा थप २४ जना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १० हजार ५३३ पुगेको छ ।
Categorized in राष्ट्रिय