arin enterprises

सफाईकर्मीको परिवारलाई खाद्यान्न तथा स्वच्छता सामग्री वितरण

SamacharDesk – बिराज | २०७८ भाद्र १७, बिहिबार

टोल, शहरको सरसफाईमा सक्रिय रहँदै आएका सफाईकर्मीहरुको परिवारलाई खाद्यान्न साथमा स्वच्छता सामग्री वितरण गरिएको छ ।

गुथि, क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडा (CNCA) र्‍यापिड याक्सन टास्क फोर्स (C-19 RAT) को संयुक्त आयोजनामा २ सय सरसफाईकर्मीको परिवारलाई सो सामग्री वितरण गरिएको हो ।

महामारीको अवस्थामा कोभिड १९ संक्रमितको घरबाट निस्किने फोहोरसमेतको व्यवस्थापनमा पुर्‍याउँदै योगदानको सम्मान स्वरुप उक्त सामग्री सहयोग गरिएको बताइएको छ ।

यस सहयोगबाट करिब एक हजार अनौपचारिक क्षेत्रका सरसफाईकर्मी र उनका परिवार लाभान्वित हुने CNCA का कोषाध्यक्ष निर्मल न्यौपानेले दावी गर्नुभयो ।

सो अवसरमा संविधान सभाका सभासद् विमल केडियोले जनस्वास्थ्यमा सरसफाईको महत्व सबैले मनन गरी सरफाईकर्मीहरुको कार्यलाई सम्मान गर्नुपर्ने विचार राख्नुभयो ।

उहाँले सरसफाईकर्मीहरुबाट संचालित स्वाभिमानी सरसफाईकर्मी सहकारी समुहका लागि ५१ हजार रुपैयाँ नगद सहयोग पनि प्रदान गर्नुभयो ।

त्यस्तै काठमाडौं महानगरपालिका वडा २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले सरसफाईकर्मीहरुले दिनहुँ सफा नगरेमा समाजमा विभिन्न रोगहरु फैलनसक्ने भन्दै सरसफाईकर्मीहरुको कार्यलाई सम्मान दिनुपर्ने विचार राख्नुभयो ।

गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले सरसफाईकर्मीहरुलाई सरकारले न्यूनतम स्वास्थ्य सुविधा समेत उपलब्ध नगराएको भन्दै दुःख पोख्नुभयो ।‘प्रत्येक दिन मास्क र पन्जा आफ्नै खर्चमा लगाई सरसफाईकर्मीहरुले काम गरिहेका हुन्छन । संक्रमण हुने भन्ने डर एकातिर छ भने काम बन्द भए कहाँबाट कमाउने र के खाने भन्ने चिन्ता अर्को तिर लिएर काम गर्न बाध्य छन’ अमात्यले भन्नुभयो ।

सफाईकर्मी माया तामाङ्ग, स्वाभिमानी सरसफाईकर्मी सहकारी समुहकी अध्यक्ष अन्जु पोडे, सरसफाई व्यवस्थापन संघ नेपालका पुर्व अध्यक्ष वासु उप्रेती, सहकारी समुहका उपाध्यक्ष रामेश्वर पोखरेल, सार्वजनिक शौचालयमा काम गर्दै आएका परमा देउला, अनौपचारिक सरसफाईकर्मी कल्पना थापा लगायतले सरसफाईकर्मीहरुले संक्रमणको जोखिम मोलेर वाध्यात्मक परिस्थितीमा काम गर्नुपरेको अवस्था औंल्याउँदै यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

Categorized in समाज