धुमधामका साथ हरितालिका तीज मनाईँदै
SamacharDesk – कल्चर ब्यूराे | २०७८ भाद्र २४, बिहिबार

आज भाद्र शुक्ल तृतीया, देशैभरिका हिन्दु नेपाली महिलाहरु हरितालिका तीज पर्व मनाउँदैछन् ।
हिजो भाद्र शुक्ल द्वितीयाको दिनमा दर खाएका हिन्दु नेपालीहरु महिलाहरु आज निराहार व्रत बस्दै तीज मनाइरहेका हुन् ।
विवाहित महिलाहरु पतिको दीर्घायूको कामना गर्दै आज व्रत बस्ने गर्छन् भने अविवाहित महिलाहरु महादेव जस्तो वरको कामना गर्ने गर्छन् ।
निराहार व्रत बस्दै भगवान महादेवको पूजा आराधना गर्ने गरिन्छ । आजको दिनमा देशभरका शिवालयहरुमा महादेवको पूजा र दर्शन गर्नका लागि शिवालयहरुमा व्रतालु महिलाहरुको विहानैदेखि भीड लागेको हुन्छ ।
विशेष गरी काठमाडौंको गौशालास्थित पशुपति मन्दिरमा भने मेला नै लाग्ने गर्दछ ।
आज भने कोभिड १९ संक्रमणको जोखिमका बीच पशुपति मन्दिर बन्द रहेको छ । केही दिन अघि मात्रै पशुपति विकास कोषले असोज १ गतेबाट मात्र मन्दिर खोल्ने घोषणा गरेको थियो ।
यद्यपि मन्दिरको ढोकामै पूजा गर्नको लागि भएपनि महिलाहरु ठुलै संख्यामा पशुपति पुगेका छन् ।
निषेधाज्ञा हटेको समयमा महिलाहरुले मन खोलेर तीजको भव्यता थपिरहेका छन् ।
तर संक्रमणको जोखिम कायम नै रहेको भन्दै सरकारले साथै चिकित्सक, जनस्वास्थ्यविद्हरुले भने स्वास्थ्य मापदण्डको पालना गर्दै सामाजिक दुरी कायम गर्दै भीडभाड नगरी पर्व मनाउन आग्रह गरेका छन् ।
निराहार ब्रत बसेका महिलाहरु भेला भई शिवको पूजा आराधना गर्नुको साथै नाचगान गर्दै रमाईलो पनि गर्ने गर्दछन् ।
महिलाहरुको मनको पीडा, व्यथा पोख्ने दिन, महिलाहरूकाे स्वतन्त्रताका दिनको रुपमा पनि तीजलाई लिइन्छ । महिलाहरु आफ्ना मनका पीडा, व्यथा पोख्दै तीजको गीत गाउँदै रमाउने गर्दछन् ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव बर पाउन गरेको कठोर तपस्या र व्रत नै आजको दिनमा तीजको रुपमा मनाउँदै गरेको जनविश्वास रहेको छ ।
Categorized in संस्कृति