arin enterprises

चःमतिमा बन्यो वृद्ध विश्राम भवनसहितको पार्क

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ आश्विन ६, बुधबार

चःमति जग्गा एकीकरण आयोजना क्षेत्रभित्र वृद्ध विश्राम भवनसहित पार्क निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएसँगै एक कार्यक्रमका बिच पार्कको उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आयोजनाको काम नसकिएका कारण २० बर्षदेखि प्रतिक्षारत स्थानीय वासिन्दालाई व्यवस्थित विकासका आफुहरु साथमा भएको सन्देश दिन पार्क बनाउन लगानी गरेको बताउनुभयो ।

काठमाडौँ महानगरको सार्वजनिक जग्गा संरक्षण र पार्क निर्माण सम्बन्धी नीति तथा चालुृ योजनाका विषयमा कुरा गर्दै प्रमुख शाक्यले अहिले ७० बढि पार्कहरु निर्माण भइरहेको बताउनुभयो ।

‘काठमाडौँ जिल्लाका सबै नगरसँग साझेदारी कार्यक्रमअन्तर्गत सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउन सहयोग गरेका छौँ । काठमाडौँ बाहिर मध्यपुर थिमिलाई सघाएका छौँ, १ प्रदेश १ भगिनी सम्बन्ध स्थापना गर्ने नीतिअनुरुप विभिन्न नगरलाई पनि पार्क बनाउने योजनामा सहयोग गरेका छौँ’ शाक्यले भन्नुभयो ।

कार्यक्रममा संघीय सांसद जीवनराम श्रेष्ठले जेष्ठ नागरिकको सहज जीवन यापनका लागि काठमाडौँमा पूर्वाधार बढाउँदै जानुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले आयोजना सञ्चालन अवधिमा स्थानीयबाट प्राप्त सहयोगको प्रसंशा गर्नुभयो ।

निर्माण समितिका संरक्षक पूर्णकाजी ज्यापुले पार्क निर्माण भएपछि स्थानीय सामाजिक जीवनमा परिवर्तन आउने अपेक्षा गर्नुभयो ।

स्थानीयबासीको जग्गा योगदानबाट प्राप्त१ रोपनी १४ आना जग्गामा २ तले भवनसहितको पार्क निर्माण गरिएको हो । पार्कलाई जेष्ठ नागरिकमैत्री बनाउन ठाउँ ठाउँमा देवी देवताका मूर्ति राखिएका छन् । यस्तै चैत्य र ४ वटा ढुङ्गेधारा पनि राखिएका छन् ।

पार्क निर्माण गर्न काठमाडौँ महानगरपालिका, चःमति जग्गा एकीकरण आयोजना र स्थानीय पूर्वाधार साझेदार कार्यक्रमअन्तर्गत काठमाडौँ क्षेत्र नं. ८ का सांसद जीवनराम श्रेष्ठको सांसद कोषको लागत सहभागिता रहेको छ । त्यसैगरी चःमति नेवाः खलःसँगको सहकार्यमा स्थानीयले करीव ३० लाख रुपैयाँको सहभागिता जनाएका छन् ।

Categorized in स्थानीय