शिवपुरीबाट मेयर शाक्य र उपमेयर खडगी सम्मानित
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ आश्विन २१, बिहिबार

महाराजगंजस्थित शिवपुरी माध्यामिक विद्यालयले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई सम्मान गरेको छ ।
विद्यालयको ७३ औं बार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा मेयर शाक्य र उपमेयर खड्गीको साथमा कामपा वडा नं. ३ का वडा अध्यक्ष दीपक के.सी.लाई विशेष सम्मान गरिएको हो ।
शिक्षा, स्वास्थ्य, भाषा, संस्कृति लगायत समग्र काठमाडौं महानगरको विकासमा पुर्याएको विशेष योगदानको कदर स्वरुप उहाँहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा पूर्वमन्त्री इश्वर पोखरेलले उहाँहरुलाई सम्मान प्रदान गर्नुभयो ।
सोही समारोहमा विभिन्न संस्था तथा व्यक्तिबाट स्थापना गरिएको अक्षयकोषबाट प्राप्त व्याज रकमबाट विद्यालयका ६० जना विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गरिएको थियो ।
उक्त अवसरमा विद्यालयमा १५ बर्ष सेवा अवधि पुगेका शिक्षक बोजबहादुर बुढाथोकी, बर्ष उत्कृष्ट शिक्षक कान्छा नुरु शेर्पालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्वमन्त्री पोखरेलले एक शिक्षक एक ल्यापटप कार्यक्रम अन्तर्गत विद्यालयलाई ४० वटा ल्यापटप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही अवसरमा सांसद विकास कोष अन्तरगत पोखरेलमार्फत प्राप्त २५ लाख रकमबाट निर्माण गरिएको शिवपुरी चमेना गृहको पनि उद्घाटन गरिएको थियो ।
कार्यक्रममा कामपा. शिक्षा विभाग प्रमुख राम प्रसाद सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई. गिरिधर मिश्र, विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शी पाण्डेले पनि सुसंस्कृत समाज निर्माणका लागि शिक्षाको महत्वको बारेमा प्रकाश पारेका थिए ।
Categorized in समाज