असनमा आज टिका ‘असं चालं’
SamacharDesk – बिराज | २०७८ आश्विन ३०, शनिबार

नेवाः समुदायमा सबैको हिजो टिका अथवा चालं मनाइसकेको अवस्थामा असनका उदाय समुदायमा भने आज टिका थापिँदैछ ।
दशैं वा मोहनि मनाउने अन्य सबै समुदायमा आश्विन शुक्ल प्रतिपदाको दिन लगाइएको जमरा दशमीको दिनमा निकालेर टिका थाप्ने गरिन्छ भने असनका उदाय समुदायको भने यो कार्य एकादशीको दिनमा गर्ने गर्दछन् ।
नेवार समुदायमा आजको दिनलाई असं चालं भन्ने गरिन्छ ।
नेवार समुदायका तुलाधर, स्थापित, कंसाकार, शिलाकार, शिख्राकार थरकालाई उदाय भन्ने गरिन्छ । असनका उदायहरुको दशमीको दिनमा खालि बसेर एकादशीमा विसर्जन पूजा गर्दै मान्यवरको हातबाट टिका र जमरा थाप्ने गर्दछन् ।
व्यापारीको रुपमा चिनिएका उदाय समुदायको कुनै बेलामा दशमीको दिनमा व्यापार व्यवसायमै व्यस्त हुँदा टिका थाप्न नै बिर्सेकाले भोलिपल्ट मात्रै टिका थापेको र त्यसबेलादेखि एकादशीको दिनमा टिका थाप्ने चलन शुरु भएको कथन समाजमा प्रचलित छ ।
असनमा आजै पायाः पनि निकाल्ने गरिन्छ । असनको यो पायाः जात्रा विभिन्न ढङ्गबाट अरु पायाः भन्दा फरक छ ।
एक त अन्य समुदायको दशमीको दिनमा निकालिने पायाः असनमा एकादशीमा निकालिन्छ ।
त्यस्तै अन्य समुदायको पायाःमा जेष्ठ नागरिक जात्राको मुख्य व्यक्ति अथवा थकालीको रुपमा खड्गसहित निस्किने गर्छन् भने असं पायाःमा सबैभन्दा कान्छो व्यक्तिले जात्राको नेतृत्व गर्छन् ।
पायाः निकाल्ने क्रममा असन चोकमा अवस्थित अन्नपूर्ण मन्दिरको पछाडी रहेको बकुननिको आगम घरबाट खड्गसहित पायाः निकालिने गरिन्छ । यसरी खड्गसहित निस्किएका व्यक्तिहरुले असनका परिक्रमा गरी फेरी आगम घरमै पुग्ने गरिन्छ ।
आगम घर पुगेर दानव वा असुरको प्रतिकको रुपमा कुभिन्डोलाई खड्गले मार हान्ने गरिन्छ । यससँगै पायाः जात्रा सम्पन्न हुने गर्दछ ।
Categorized in संस्कृति