भक्तपुरको दशमहाबिद्या पूजा तथा परिक्रमा सम्पन्न
SamacharDesk – बिराज | २०७८ कार्तिक २५, बिहिबार

भक्तपुर नगरको दशमहाबिद्याको पूजा तथा परिक्रमा सम्पन्न भएको छ ।
तन्त्र चर्चा परिवारको आयोजनमा भक्तपुर नगरीको सुरक्षार्थ यन्त्राकारमा तान्त्रिक सुरक्षा घेरामा बसेका दशमहाविद्याको पूजा तथा परिक्रमा बुधकार सम्पन्न भएको हो ।
तान्त्रिक विधिबाट सम्पन्न पूजामा आयोजकका तर्फबाट तन्त्र चर्चाका अध्यक्ष सन्दिप सापकोटा, काठमाडौं तलेजु भवानीको मूल पुजारी उद्धब कर्माचार्य, पाटन तलेजु भवानीका पुजारी निरण ज्वालानन्द राजोपाध्याय र भक्तपुर तलेजु भवानीका नाईके पुजारी प्रज्ञेश राजोपाध्याय र गजानन्द राजोपाध्यायसमेतबाट संकल्प पूजा गरिएको थियो ।
भक्तपुरको टौमढीस्थित न्यातापोल मन्दिरसँगै रहेको काशी विश्वनाथ भैरब अगाडि दशमहाबिद्याको संकल्प पूजा गरिएको थियो । टौमढी टोलको स्थान गणेशका रुपमा रहेका जोरगणेशलाई पूजा गरि दशमहाबिद्या पूजा तथा परिक्रमा शुरु गरिएको थियो ।
परिक्रमाको क्रममा यःसिंखेलस्थित भद्रकाली (नकिंजु–खुसिं अजिमा) पीठ परिसरमा भद्रकालीको अगाडि खाल्डोमा विराजमान श्री काली, खँलामा श्री भैरबी (च्वकिं अजिमा), भिसिंख्यको श्री तारा (नील सरस्वती), दुगुमला भोलाछेंकी श्री सिद्धिलक्ष्मी, कमला( भुखायद्यः) दर्शन गर्न पुगेका थिए ।
त्यसैगरी सुकुलढोका टिबुक्छेंकी श्री धुमावती (दुरुप्व द्यः), खौमा ब्यासीस्थित इन्द्रायणी पीठको बगलामसखी, लायकू दरवार स्क्वाएर इपाछेँमा स्व. केदार राजोपाध्यायको निजि घर भित्रको श्री मातङ्गी, टौमढीको श्री भुवनेस्वरी (चण्डिका)को साथमा टौमढीकै छिन्नमस्ता र तुलाछेँकी श्री त्रिपूरासुन्दरीको पूजा तथा परिक्रमा गरिएको थियो ।
पूजा तथा परिक्रमाको क्रममा दत्तात्रयको सलाँ गणेश, नवदुर्गा द्यःछेँ, क्वलाछेँमा विराजमान तलेजु गणेश तथा नासमनाको नाथेश्वर (नासद्यः), बाराहि पीठ (याकति अजिमा) समेतको पनि पूजा गरिएको थियो ।
सो पूजा तथा परिक्रमा कार्यक्रममा डा. जगमान गुरुङ्ग, तेजेस्वर बाबु ग्वङ्गः र ओम धौभदेललगायत विशिष्ट ब्यक्तित्वहरुको साथै सय बढि साधकसाधिकाहरुको सहभागीता रहेको थियो ।
देशमा सुख शान्ति तथा कोभिड १९ बाट समस्त देशवासीको मुक्तिको कामना गर्दै तान्त्रोक्त दशमहाबिद्या पूजा तथा परिक्रमा गरिएको थियो ।
Categorized in संस्कृति