नेपालभाषा प्रशिक्षण सहायकहरुबाट न्हूदँया भिंतुना
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ कार्तिक २७, शनिबार

राजनीतिक, शैक्षिक र प्रशासनिक क्षेत्र तथा स्थानीयबासीबाट प्राप्त सहयोगबाट काठमाडौँ महानगरमा स्थानीय पाठ्यक्रमका रुपमा नेपाल भाषाको पठनपाठन सम्भव भएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभएको छ ।
सामुदायिक विद्यालयहरूमा नेपालभाषा माध्यमबाट स्थानीय विषय पढाउने प्रशिक्षण सहायकहरूकोतर्फबाट नेपाल संवत् ११४२ नयाँ वर्षको अवसरमा आज शंखधर पार्कमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले यस्ताे भन्नुभएको हो ।
सो अवसरमा महानगर प्रमुख शाक्यले महानगरभित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई महानगरबारे यथार्थ जानकारी होस् र नगरप्रति अपनत्व बढोस् भन्ने अभिप्रायले स्थानीय विषय स्थानीय भाषामै पढाउने निर्णय गरेको जानकारी गराउनुभयो ।
‘भाषाको अध्ययनले ज्ञानको दायरा फराकिलो बनाउँछ, मौलिक भाषाको ज्ञानले परम्परागत रुपमा विकास हुँदै आएको सामाजिक व्यवस्थापन सम्बन्धी तथ्य थाहा हुन्छ’ शाक्यले भन्नुभयो ।
कार्यक्रममा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले स्थानीय भाषाको अध्ययनलाई औपचारिक शिक्षामा समावेश गरेपछि सहर र यसको चिनारी सम्बन्धी आधिकारिक सूचना प्रवाह हुने अपेक्षा गर्नुभयो ।
नेपालभाषा प्रशिक्षण सहायक सुनिता राजभण्डारी र अगिव बनेपालीले स्थानीय भाषा पढाउँदाको अनुभव सुनाउँदै, विद्यार्थीहरुमा चाख बढ्दै गएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, कार्यपालिका सदस्य तथा अधिकारीहरुले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाः र नेपाल सम्बत आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।
महानगरले सामुदायिक विद्यालयमा नेपाल भाषा अध्यापन गराउन १७२ जना प्रशिक्षण सहायक नियुक्ति गरेको छ ।
Categorized in स्थानीय