arin enterprises

धुम्रवाराही पार्कको शिलान्यास सम्पन्न

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ कार्तिक ३०, मंगलबार

काठमाडौं महागनरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले सार्वजनिक जग्गामा सामदायिक भवन बनाउने प्रचलनलाई छोडेर काठमाडौँलाई मानव बस्ती अनुकुृल सहर बनाउन पार्क र हरियालीलाई प्राथमिकता दिन थालेको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ४ शिवप्रिया मार्गमा धुम्रवाराही पार्कको शिलान्यास गर्दै भित्री सहरी क्षेत्रमा खुल्ला ठाउँको कमी भएपछि बाहिरी सहरी क्षेत्रमा यस्तो अवस्था आउन नदिन सजगता अपनाइएको उहाँले बताउनुभयो ।

‘विविधतायुक्त विशेषताको भएको राजधानी सहरमा हामीले स्थानीयलाई मात्र सेवा दिएर पुग्दैन, सहरमा आउने सबैको व्यवस्थापन हाम्रो जिम्मेवारी हो’, शाक्यले भन्नुभयो, ‘यसका लागि नीति, योजना र कार्यक्रमबाट अपेक्षा पूरा गराउने प्रयासमा छौँ ।’

सोही समारोहमा प्रदेशसभा सदस्य नारायण सिलवालले धुम्रवराही पार्क निर्माणको पहिलो चरणमा करीव १ करोड रुपैयाँको लागत अनुमानमा काम हुन लागेको बताउँदै यसको परियोजना प्रतिवेदनअनुसार करीव ३ करोड रुपैयाँ लागत आवश्यक पर्ने जानकारी गराउनुभयो ।

बाँकी कामका लागि महानगरले आउँदा बर्षहरुमा नियमित बजेट छुट्याउन सिलवालले आग्रह गर्नुभयो ।

वडाध्यक्ष मोहनबहादुर विष्टले वडाको भौगोलिक क्षेत्रभित्रबाट करीव ७२ रोपनी पर्ती र सार्वजनिक जग्गा संरक्षण गरेको र यसमा १४ वटा पार्क निर्माण हुन लागेको जानकारी गराउनुभयो ।

वडाध्यक्ष विष्टले २ वटा ठूला पार्क निर्माण प्रक्रियामा पुगेको, केही सम्पन्न भएको र केही निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो ।

‘जग्गा खुल्ला देखेपछि सबैको आँखा पर्ने, प्रमाण नपुगे पनि हकदावी गर्न आउने, मुद्दा लिएर अदालत पुग्ने आचरणका कारण भनेको समयमा काम गर्न पाइएन तर, हामी सार्वजनिक जग्गालाई खुल्ला बनाएरै छोड्छौँ’ विष्टको भनाइ थियो ।

यो क्षेत्रमा करीव १२ रोपनी सार्वजनिक जग्गा छ । यसलाई ४ वटा ब्लकमा विभाजन गरेर पार्क निर्माण भइरहेको छ । पहिलो ब्लक प्रदेश सरकारको बजेटमा निर्माण गरिसकिएको छ ।

दोस्रो र तेस्रो ब्लकमा निर्माण थालिएको छ भने चौथो ब्लक महानगर र प्रतिनिधि सभा सदस्यको बजेटमा निर्माणको अन्तिम चरणमा पुगेको छ ।

यसमध्ये धुम्रवाराही पार्क शिलान्यास भएको ठाउँमा करीव ७ रोपनी क्षेत्रफलमा जग्गा छ ।

करबाहेक करीब ८९ लाख रुपैयाँ लागत अनुमान रहेको पार्क निर्माण गर्न शारदा कन्स्ट्रसनले ५८ लाख २९ हजार ५७६ रुपैयाँमा कबोल गरेको छ । यसको निर्माण कार्य आउँदो असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Categorized in स्थानीय