arin enterprises

बैङ्किङ् कारोवारका लागि काठमाडौँ महानगर र एनआइसी बैङ्कविच सम्झौता

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ मङ्सिर २१, मंगलबार

बैङ्किङ् कारोवारका लागि काठमाडौँ महानगरपालिकाले एनआइसी एशिया बैङ्कसँग सम्झौता गरेको छ ।

वडासहित राजस्व संकलन हुने केन्द्र र समग्र काममा पर्ने बैङ्किङ् कामका लागि महानगरले प्रतिस्पर्धाको माध्यमबाट छनौट गरी एनआइसीसँग सम्झौता गरेको हो ।

सोमबार राष्ट्रिय सभागृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र वैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतापछि प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले महानगरको आर्थिक कारोवार पूर्ण रुपमा बैङ्कमार्फत हुन थालेपछि वित्तिय सुशासन कायम हुने बताउनुभयो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले महानगरको वित्तिय अनुशासन कायम गराउन वैङ्कले आफ्ना सबै दायित्वहरु इमान्दार भएर पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्झौताबमोजिम आउँदो ३ महिनाभित्र महानगरका सबै वडा र राजस्व संकलन केन्द्रमा बैङ्कले एउटै प्रकारका काउन्टर खोल्नेछ । यसपछि महानगरलाई सेवाग्राहीले बुझाउनु पर्ने सबै प्रकारका रकम सोझै बैङ्कमा जम्मा हुनेछ ।

बैङ्कले महानगरको केन्द्रीय कार्यालयमा एटीएम खोल्नेछ भने महानगरले कर्मचारीहरुको तलवीसहितका खाता वैङ्कबाट सञ्चालन गर्नेछ ।

Categorized in स्थानीय